वीरगञ्जमा ९४ जनालाई क्वारेन्टाइनमा राखियाे

जनकपुरधाम: वीरगञ्जमा तीन जना कोरोना संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोज शुरु भएको हो।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिदमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

साथै क्वारेन्टाइनमा राखिएका ९४ जनाको स्वाब संकलन गरिएको र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको विस्तृत रुपमा खोजी गर्ने काम भइरहेको मिडिया ब्रिफिङमार्फत सचिव डा. घिमिरेले जानकारी दिएका हुन्।

वीरगञ्जमै तीन जना कोरोना संक्रमित फेला परेकोले वीरगञ्जस्थित नारायणी अस्पतालमा उच्च क्षमता भएको पिसिआर मसिन जडा गर्न लागेको उनले जानकारी दिए। त्यसका लागि सबै प्रक्रिया अगाडी बढिसकेको उनको भनाइ छ।

साथै नारायणी अस्पताललाई तत्कालको लागि कोरोना विशेष अस्पतालको रुपमा परिणत गर्ने र उक्त अस्पतालले दिँदै आएको सेवा नेशनल मेडिकल कलेजले नारायणीकै सेवा शुल्कमा दिने निर्णयसमेत भएकाे उनले बताए।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको संयजोकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदाधिकारी, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिहरुले उक्त निर्णय गरेको सचिव डा. घिमिरेले जानकारी दिए।

प्रदेश २ लाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि तीन समूहमा विभाजन गर्ने निर्णय गरिएको छ।

जसमा बारा, पर्सा र रौतहटलाई एक समूहमा, सर्लाही, धनुषा र महोत्तरीलाई दोस्रो समूहमा तथा सिरहा र सप्तरीलाई तेस्रो समूहमा राख्ने तय गरिएको छ।

हरेक समूहमा एक–एक वटा क्लिनिकल टास्क फोर्स तयार गरेर कोरोना भाइरस रोक्थाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउने योजना सहितको सिफारिस गरिएको उनले बताए।