सिन्धुलीमा तरकारी बिकेन, किसान र व्यवसायीहरु चिन्तित

निकै दुःख गरेर गाउँबाट मात्रै होइन, बर्दिवासबाट ल्याइएका तरकारीहरु नबिकेर फाल्नु पर्दा निकै पिडा भएको सिन्धुलीमा तरकारीको होलसेल तथा खुद्रा विक्री गरिरहेका व्यवसायीले बताउन थालेका छन् ।

कृषि उपज बजार भित्र होलसेलका रुपमा तरकारीको कारोवारगर्दै आएका राकेश साहका अनुसार लक डाउनको अवधीमा मात्रै तरकारी व्यवसायबाट १ लाख रुपैयाँ भन्दा बढी घाटा भइसकेको छ । ग्रामिण क्षेत्रबाट डेढ घण्टादेखी २ घण्टासम्म डोकोमा बोकेर ल्याइएका तरकारीहरु बिक्री नभएर फाल्नुपर्दा निकै पिडा हुने गरेको उनले सुनाए ।
स्थानीय किसानहरुबाट खरिद गरिएका साग सव्जी, लसुन, मुला, काउली, बन्दा भान्टा र हरियो खुर्सानी जस्ता तरकारीहरु लक डाउनका कारणले टाढाबाट मानिसहरु आइपुग्दैनन्, त्यही कारणले तरकारीहरु बिकेकै छैन, साहले आफ्नो दुःखेसो यसरी पोखे । ‘दिनदिनै ताजा तरकारी ल्याएर बेच्नु पर्छ, ओइलिएको तरकारी एक दिन भन्दा बढी राख्नै मिल्दैन, तेस्रो दिन त्यो सबै फाल्नु पर्छ, यसरी किनेर ल्याएका तरकारीहरु कति दिन फाल्नु ?’ राकेशले आफ्नो पिडा यसरी सुनाएका थिए ।
वर्षोदेखी तरकारी बेचेरै बसियो, अहिले दैनिक रुपमा तरकारी फाल्नु पर्दा र घाटा लागिरहेको हेर्दा कामै छोडेर जाउँ कि भन्ने लाग्न थालेको बताउँदै उनले देशै सङ्कटमा छ, यस्तो बेलामा हामीले आफ्नो जिम्मेवारीबाट पन्छिनु हुँदैन भन्ने सोचले व्यवासायीहरु स्वास्थ्यको पर्वाह नगरी तरकारी ओसार पसार र विक्रीमा खटिएको बताए ।
राजधानी काठमाडौ लगायत देशका प्रमुख सहरमा तरकारीको अभाव देखाउँदै मुल्यवृद्धि गरिरहेका बेला सिन्धुली नबिकेर यहाँका व्यवसायीहरुले निरन्तर फालिरहेका छन् ।
कृषि उपज बजार व्यवस्थापन समितिका अनुसार लक डाउनका कारण मानिसहरु तरकारी बजारसम्म नआइपुग्दा व्यवसायीले ठूलो परिमाणमा फाल्नु पर्ने अबस्था आएको हो ।
समितिका अध्यक्ष नरेश देवकोटाका अनुसार लकडाउनका कारण तरकारी व्यवसायमा संलग्न भएका व्यवसायीहरुलाई पूर्ववत अबस्थामा फर्कन लामै संघर्ष गर्नु पर्ने अबस्था भएको छ ।
किसानहरुको उत्पादन प्रशस्तै छ, तर उनीहरुले आफ्नो उत्पादन बजारसम्म लैजान सकेका छैनन् भने व्यवसायी पनि किसानहरुको बारीमा पुगेका छैनन्, जसले गर्दा ठूलो परिमाणमा किसानका उत्पादनहरु पनि खेर गएको अध्यक्ष देवकोटाका भनाई रहेको छ ।
कारोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि राज्यका तर्फबाट यस्तै अबस्था जारी रहेका किसानहरुका लागि विषेश राहतको प्याकेज घोषणा गर्न जरुरी रहेको अध्यक्ष देवकोटाको भनाई थियो । यता कमलामाई नगरपालिकाको कृषि शाखाले लकडाउनका कारण आफ्नो उत्पादन बजारसम्म लान नपाएर क्षति व्यहोरेका किसानहरुको विवरण संकलन गर्न थालिएको र राहत व्याकेजका विषयमा छलफल अगाडि बढाइने शाखा प्रमुख देवी सापकोटाले बताए । उनका अनुसार किसानहरुले लकडाउनको ठूलो मार खेपीरहेको र त्यसबाट रिकभर हुन उनीहरुलाई धेरै समय लाग्ने देखिएको छ । (कमलामाई फिचर सेवा)