प्रधानमन्त्री ओलीले विघटित कार्यदलका सदस्यलाई छलफलका लागि बोलाए

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको विवाद समाधानमा भूमिका खेलेको कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन्।

यो भन्दा अघिको किचलो समाधानका लागि भूमिका खेलेको ‘समस्या समाधान कार्यदल’ का सदस्यहरुलाई ओलीले सोमबार दिउँसो बालुवाटार बोलाएका हुन्।

कार्यदलमा त्यतिबेला ओलीका तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे थिए।

उनीहरु सबैलाई पछिल्लो विवादमा केन्द्रित छलफलका लागि बालुवाटार बोलाइएको हो। तर प्रचण्ड पक्षका नेता शर्मा आइसोलेसनमा रहेको र भुसाल कार्यव्यस्तताका कारण बालुवाटार नजाने भएका छन्।

बाँकी नेताहरु बालुवाटार जाने योजनामा छन्। ओलीले हिजो नेता नेपाल र नेपाल निकट नेता रावल, पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएका थिए।