नेकपा भित्र फैलिएको चैते डँढेलो र नियन्त्रकहरूको असफल प्रयाश

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल । फाइल फोटोः


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सल्केको डँढेलो निभाउनका लागि गरिएका प्रयत्नहरु तत्कालै कामयावी हुने देखिएको छैन । तत्कालै पार्टी सचिवालयको बैठक बोलाउन मागगर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको आजको घोचपेचपूर्ण संवादले पार्टीभित्र लागेको डँढेलो निभ्ने भन्दा अझ बढेर गएको छ । सचिवालय बैठक बोलाउने विषयमा ओली र असन्तुष्ट समूहबीच सहमति नजुटिरहँदा नेकपाको विवादले कस्तो मोड लिन्छ यसै भन्न सकिने अबस्था देखिंदैन ।
धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले सुरुमा ओलीलाई बैठक मागगर्दै लिखित पत्र बुझाउँदै पहिलो पटक अध्यक्ष दाहालले बैठकको आवश्यकताबारे आफूनो धारणासकिन नपाउँदै अर्का अध्यक्ष ओलीले भनेका थिए, ‘तपाईं जहिल्यै जालीझेली कुरा गर्नुहुन्छ, मान्छेलाई भड्काउनु हुन्छ । गुटबन्दी गर्नुहुन्छ । गुटको कुरा लिएर आउनु हुन्छ । यसरी त कसरी हुन्छ ?’ ती नेताका अनुसार अरुको तुलनामा ओली प्रचण्डप्रति आक्रोशित देखिएका थिए ।
बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई जवाफ दिँदै लगत्तै छलफलमा सहभागी अरु नेताले एकैस्वरमा अध्यक्ष ओलीलाई भने‘तपाईं आफू भने आफ्ना मान्छे बोलाएर छलफल गरिराख्ने, देशव्यापी जुम बैठक राख्ने, तर पार्टी बैठक राख्न नमान्ने ? तपाईंले गरेको छलफल हुने अरुले गरेका गुटका बैठक हुने ?’
अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई भनेका थिए, ‘भदौको स्थायी कमिटीको निर्णय कार्यान्वयन भएन, समस्यामात्रै पैदा भए । झन नयाँ समस्या थपिए । बैठक बसौं भन्दा पनि तपाईंले मान्नु भएन । मैले औपचारिक रुपमा बैठक राख्छु भन्दा पार्टी फुटेको मान्छु र अर्को बैठक राख्छु भन्नुभयो । त्यसपछि मैले अनौपचारिक बैठक राखेँ । र अहिले म सबै साथीहरुको सुझावसहित यहाँ आएको छु । अब समग्र विषय बस्तुमा छलफल गर्नका लागि बैठक बस्नैप¥यो ।’
सचिवालय बैठक बोलाए त्यहीं नै पार्टी विभाजनको विन्दु हुने ओलीको चेतावनीपछि सचिवालयका पाँच सदस्यले शुक्रबार धुम्बाराहीमा अनौपचारिक छलफल गरेका थिए । त्यसैअनुसार उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयनको, कोभिड–१९ को अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै ओलीलाई दुई पेज लामो पत्र बुझाएका हुन् ।
प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न आइतबार वा सोमबार बैठक बोलाउन लिखित आग्रह गरिएको बताए । स्थायी कमिटीको सर्वसम्मतिले निकालेको निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न भएको, कार्यान्वयनको प्रक्रिया अगाडि नबढेको भन्दै सचिवालयका बहुमत सदस्यले अध्यक्ष ओलीमाथि दबाब बनाइरहेका छन् । पछिल्लो समय राष्ट्रियता र संघीय प्रणालीसम्बन्धी केही सवालमा पनि नेकपाभित्र मतभेद छ ।
सचिवालयका अर्का एक सदस्यले छलफलमा वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्नैप्रश्न उठाएको बताए । नेपालले छलफलमा राखेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘तपाईं (ओली) ले कुनै गल्ती नै गर्नुभएको छैन ? तपाईंले कहिल्यै आत्माआलोचना नै गर्नु नपर्ने ? यत्ति धेरै साथीहरु तपाईंको आलोचना, विरोध गर्ने ठाउँमा किन पुग्नु भयो भनेर तपाईंले आत्मालोचना गर्न नपर्ने ? सोच्न नपर्ने ? सबै राम्रै राम्रो भएको मान्छे हो तपाईं ? आफू ठीक छु भन्ने तपाईंको गल्ती कमजोरी नै यही हो । अब बैठक राखौं खुला खुला छलफल गरौं ।’
अर्का वरिष्ठ नेता खनालको भनाइ थियो, ‘सबै बैठकको निर्णय सबैले मान्नुपर्छ । बैठक गरौं । बैठकको निष्कर्षलाई सबैले मानौं ।’
ती सचिवालयसदस्यका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली समक्ष भनेका थिएः ‘कोभिड–१९ ले पैदा गरेको संकट समाधान हाम्रो पार्टीले गर्नुपर्छ । त्यसकारण आकस्मिक बैठक बसौं भनेर दुवै अध्यक्षलाई भने । तपाईंहरुले बैठक त राख्न पहल नै गर्नुभएन, जवाफ पनि दिनु भएन । यस्तै हुन्छ त कम्युनिष्ट पार्टी ? तपाईंहरुले कुनै जवाफ दिन नपर्ने, बैठक राख्न नपर्ने ? कम्युनिष्ट पार्टीमा हुनुपर्ने आलोचनात्मक चिन्तनलाई बुझ्न तयार नहुने तपाईं (ओली) को समस्या हो । बैठक बसेर सबै समस्याको हल खोजौं ।’
श्रेष्ठले भनाइ राखेलगत्तै ओलीले प्रवक्ताको दायरा नाघेको भन्दै आलोचना गरेका थिए । ती सदस्यका अनुसार श्रेष्ठलाई ओलीको जवाफ थियो, ‘कतिपय बेला तपाईंले पनि त प्रवक्ताको दायरा मिच्नु भएको छ नि !’
त्यसपछि फेरि सचिवालयका अन्य सदस्यहरुले बैठकका लागि अध्यक्ष ओली तयार हुनुपर्ने बताएका थिए । जवाफमा ओलीले भनेका थिए, ‘पार्टीको बैठक नराख्ने कहिले भनेको छु र ?’ लगत्तै अरु नेताले, ‘आजै बैठकको मिति तोकौं । भोलि वा पर्सि बैठक गरौं ।’ त्यसपछि ओलीको जवाफ थियो, ‘भोलि, पर्सि कहिले हुन्छ सल्लाह गरेर राखौलाँ ।
ओली बैठकको मिति तोक्न तयार भएनन् । त्यसपछि सचिवालयका नेताहरु पछि सल्लाह गर्ने भन्दै बालुवाटारबाट निस्किएका थिए । पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्बाराहीमा छलफल गरेर आएका थिए । शुक्रबार कार्यकारी अध्यक्ष दाहालले सचिवालयको बोलाएको अनौपचारिक बैठकमा अर्का अध्यक्ष ओलीलाई बैठक बोलाउन आग्रह गर्दै पत्र लेख्ने निर्णय भएको थियो ।
ओली सोमबारसम्म बैठकका लागि तयार नभए कसरी अगाडि बढ्ने भन्ने विषयमा थल छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । उनले बैठक राख्न ओली तयार हुने र त्यहीबाट समस्याको समाधान हुने आफूहरुले विश्वास लिएको पनि बताए ।

भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी र सरकार सञ्चालनमा सकारात्मक परिवर्तन गर्ने, पार्टी र सरकारलाई विचार र नीतिका आधारमा सञ्चालन गर्ने, पार्टी र सरकार दुवैलाई विधि र पद्धतिका आधारमा संस्थागत ढंगले सञ्चालन गर्ने, सरकारलाई जनमुखी ढंगले सञ्चालन गरी सफल पार्ने तथा आगामी चैतमा पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्ने गरी एकताको राष्ट्रिय महाधिवेशन गर्नेसहितका १५ बुँदे प्रस्ताव पारित गरेको थियो ।
तर, पार्टीभित्र एकपछि अर्को विवादले स्थायी कमिटीका निर्णय कार्यान्वयनमा समस्या आएका छन् । यहीबीचमा कर्णालीमा उत्पन्न पार्टी संकट, भारतीय गुप्तचर संस्था र सेना अध्यक्षको नेपाल भ्रमण, राष्ट्रपतिको सक्रियता, लगायतका विवाद पनि नेकपामा थपिएका छन् । प्रदेशखबर टिप्पणीः