रुकुमको आठबीसकोटमा झडप, निषेधाज्ञा जारी

रुकुम जिल्लाको आठबीसकोट नगरपालिकामा सत्तारुढ नेकपा र नेपाली कांग्रेस पक्षबीच झडप भएपछि शुक्रबार दिनभर तनावग्रस्त रह्यो भने प्रशासनले झडप रोक्न केही वडाहरुमा निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गरेर नगरपालिकाका ९, १०, ११ र १२ नम्बर वडाको सम्पूर्ण क्षेत्र सिल गरिएको जनाएको छ । साथै जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका ६ बजेदेखि अर्को सूचना नआउञ्जेलसम्मका लागि निषेधाज्ञा लगाएको जनाएको छ ।

कोरोना भाइरसको सङक्रमण बढ्दै गएको अवस्थामा पनि त्यही क्षेत्रमा केही समूहबाट भेला हुने तथा अवाञ्छित गतिविधि गरी शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने, अशान्ति सिर्जना गर्न खोजेकाले निषेधाज्ञा लगाउनु परेको र सूचनाको पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडी बजारमा बिहीबारदेखि नै नेकपा र नेपाली कांग्रेस निकट युवाहरु भेला भएर झडपको प्रयास गरिरहेका छन्, यही कारण दिनभर राडी बजारमा तनाव भएको थियो । दुवै पक्षका युवाहरु बन्चरो, खुकुरी, हँसिया, तरबारलगायतका घरेलु हतियारसहित क्याम्प खडा गरेर बसेका छन् ।

दुवै पक्षको राजनीतिक प्रतिशोधका कारण स्थानीयवासीहरुको शान्तिपूर्वक बस्न पाएका छैनन् भने दुवै पक्षले झडपको कारण एक–अर्का भएको आरोप लगाउँदै आएका छन् । झडपको स्थिति आएपछि प्रहरीले जिल्लाबाट थप प्रहरी पठाएको जनाएको छ ।

यसअघि पनि आठबीसकोटमा बेलाबेला नेकपा र कांग्रेस निकट युवाहरु बीच झडप हुँदै आएको छ । यस पटक भने विशेष गरी बस, जीपको टिकट काउन्टरको विषयमा विवाद हुँदा झडपको स्थिती सृजना भएको हो ।