कोरोना संक्रमितको शव व्यवस्थापनमा विवाद, शव गाडिएको स्थान सील

कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सील गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सील गरिएको हो।

बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेको थियो। त्यसपछि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए। यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बीच छलफल गर्दा पनि कुनै निष्कर्ष नआएपछि अर्को निर्णय नभएसम्मका लागि कब्रस्तान सील गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।

मानव बस्तीसँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। स्थानीयले कब्रस्तानमा तालासमेत लगाएका छन्। यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रबार बिहान मृत्यु भएका धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ। तर आन्दोलनरत पक्षले भने धनगढीमा रहेको कब्रस्तान सधैँका लागि बन्द हुनुपर्ने माग गरेका छन्।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बीचमै रहेको कब्रस्तानमा गाडेका थिए।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन्। उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन्।