सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको साथ लिएर संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको सूचना गुप्तचर निकायले प्रधानमन्त्रीलाई बुझाएपछि केही समयका लागि बिराम लागेको नेकपाको झगडा एकाएक चर्कन पुगेको छ ।
वालुवाटार स्रोतका अनुसार पटक पटक भेटका लागि प्रधानमन्त्री ओलीले बोलाएपनि कार्यकारी अध्यक्ष प्रचण्ड नआएपछि
बरिष्ठ नेता माधव नेपाललाई बोलाएर छलफल गरेका थिए । विधी र पद्धतिबाटै पार्टी र सरकार सञ्चालन हुनुपर्छ भन्दै आएका नेता नेपालको साथ लिएर मात्रै अर्का अध्यक्ष प्रचण्डको अविश्वास प्रस्तावलाई परास्त गर्न सकिन्छ भन्ने निश्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रहरु मार्फत संसदीय दलमा निर्णायक भूमिकामा रहेका नेपाल पक्षलाई मनाउने प्रयत्नमा लागेको देखिएको छ ।
अध्यक्ष प्रचण्डले नेपाललाई कुनै पनि हालतमा ओलीको पक्षमा पुग्न नदिन उनी निकटका बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्यलगायतलाई परिचालन गरिरहेका छन् । तर माधव नेपाल पार्टी भने सरकारै ढाल्नेगरी ल्याउन लागिएको अश्विास प्रस्तावको पक्षमा नरहेको संवद्ध स्रोतले बताएको छ । गलाउने र विधी पद्धति मार्फतत्य सरकार र पार्टी सञ्चालन गराउने पक्षमा नेता नेपाल दृढछन् । यसले पनि प्रचण्डको अविश्वास प्रस्तावको पासा सहजै पल्टिने छैन ।
ओलीललाई अविश्वास प्रस्ताव मार्फत अपदस्थ गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सन्दर्भमा कांग्रेस नेता शेरवहादुर देउवाको बलियो साथ अध्यक्ष प्रचण्डलाई रहने देखिएको छ । यसै सम्बन्धी सूचना गुप्तचर निकायले प्रधानमन्त्रीलाई दिएपछि नेकपामा गहिरिएको संकटले फेरी एक पटक सिंगो मुलुकलाई अस्थिरतामा लैजाने देखिएको छ ।
बालुवाटारमा नेकपाको बिवाद समाधानका लागि पुगेका ओली निकट एक नेता भन्छन्ः ‘विवाद समाधानको साटो ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना हामीलाई प्राप्त भएको छ । ती आधिकारिक रुपमानैं भएका हुन वा होइनन् भन्ने कुरालाई हामीले अत्यन्त गोप्य रुपमा अध्ययन थालेका छौँ ।’
प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उल्लंघन गरेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र राष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जासुसी संस्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि एजेण्डाहरु तयार गरिएको बताइन्छ । तर जासुसी संस्थाका रअका प्रमुख सामन्तकुमार गोयललाई भने ओली एक्लैले मात्रै भेटेका होइनन् । ती भारतीय गुप्तचर अधिकारीले अध्यक्ष प्रचण्ड, नेता नेपाल र कांग्रेस सभापति शेरवहादुर देउवालाई भेटेका थिए ।
वावुवाटार स्रोत अगाडि भन्छः ‘रअ प्रमुख नेपाल आएका दिन अपरान्ह साढे चार साढे ६ बजेसम्म माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावल, जनार्दशन शर्मा, सुरेन्द्र पाण्डेलगायतले राजधानीको एक होटलमा छलफल गरिरहेका थिए जहाँ रअ प्रमुख रहेको हामीलाई आशंका छ ।’ जुन कुरा गुप्तचर निकायले तयार पारेको सूचनामा उल्लेख गरिएको छ । त्यही सूचनालाई आधार बनाएर ती नेताले बताएका हुन् । स्मरणीय छः ओली र गोयलबीच यही कात्तिक पाँच गते राति बालुवाटारमा करिब २ घण्टा भेट भएको थियो ।
हिजो मध्यान्ह मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत प्रधानमन्त्रीका सल्लाहकारहरुबीच भएको आन्तरिक समीक्षामा पनि यो विषयबारे छलफल भएको थियो ।
समीक्षामा सामेल एक नेताले भने, ‘ओलीबिरुद्ध फेरि अर्को रडाको मच्चाउने तयारी भइरहेको मैले सुनेको छु । केही सिप नलागे कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड पक्षले गरेको बुझिएको छ । एक जना मात्रै सांसद बढी भएमा उनीहरु अविश्वासको प्रस्तावतर्फ जाने योजना बनाएको बुझिएको छ ।’
संविधानको धारा १०० को उपधारा ९४० बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । तर, प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म प्रधानमन्त्रीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने संवैधानिक व्यवस्था छ ।