नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना बिरुद्ध बिहीबार कर्तव्य ज्यान मुद्द दर्ता भएको छ।
चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले मुदा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ। उक्त निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता भइसकेको पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले जानकारी दिए।

मृतक चौरसियाका भाइ महेश चौरसियाले गुप्तासहित १२ जना बिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन्। किटानी जाहेरीमा चौरसियाको हत्यामा संलग्न रहेको आरोपित संविधान सभा सदस्य गुप्तासहित प्रहरी हिरासतमा रहेका देवा सहनी, सोकदिन गदीलगायत गरी १२ जनाको नाम रहेको कुँवरले बताए।
एक साताअघि गत कात्तिक ६ गते बिन्दबासिनी गाउँपालिकाको नवगठित नेकपा समितिको सपथ ग्रहण कार्यक्रममा झडप हुदा गाउँपालिकाका सचिव समेत चुनिएका मुकेश चौरसिया गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा त्यसको भोलिपल्ट कात्तिक ७ गते वीरगञ्जमा मृत्यु भएको थियो।

सोही दिनदेखि उनका आफन्त र नेकपा पर्साले जाहेरी दर्ता गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए। घटना भएको एक हप्तापछि सरकारी वकिलको कार्यालयमार्फत कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।