नारायणी अस्पतालको ओपीडी सेवा बन्द, चार जिल्लाबाट आउने बिरामीहरु मारमा

बिरगञ्ज: नारायणी अस्पतालको आईसोलेशनमा रहेका तीनजना भारतीय धर्मगुरुहरुमा कोरोना संक्रमण भएको पाइएपछि अस्पतालको ओपीडी सेवा बन्द भएको छ।

वीरगञ्जको छपकैयामा बसेका तीनजना भारतीयमा कोरोना भाईरसको सँक्रमण पुष्टि भएसँगै उनीहरुलाइ आईसोलेशनमा राखिएको नारायणी अस्पतालको ओपिडी सेवा बन्द गरिएको हो।

ओपिडी सेवासँगै कोरोना संक्रमितहरुकै आईसोलेशन कक्षा पनि रहेकोले ओपिडी सेवा बन्द गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

उनले अस्पतालको एनआईसियु लगायतका अरु सेवाहरु भने बन्द नभएको बताए ।‘अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ, उपाध्यायले भने,ओपिडी बाहेकका अरु एनआईसियु लगायतका अरु सेवाहरु भने सुचारु छ।’

अस्पतालको ओपिडी सेवा बन्द भएपछि पर्सा बारा रौतहट सर्लाही लागायतका जिल्लाहरुबाट आउने बिरामीहरु भने मारमा परेका छन्।

बिरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको मस्जिदमा भारतबाट आएर बस्दै आएका तीनजना भारतीय धर्मगुरुहरुमा कोरोना भाईरसको सँक्रमण पोजेटिभ भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले आईतबार पुष्टि गरिसकेको छ।