अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको छ ।
समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति कर्णले गम्भीर प्रकृतिका चार वटा उजुरी परेको बताए ।
समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो । सभापति कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए ।
उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाविरुद्ध तीन वटा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एक वटा रहेको सभापति कर्णले बताए।
सरकारले डा। युवराज खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोस्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालाका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
त्यस्तै डा। निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कङ्गो, तान्जानिया, जाम्भिया, जिम्बाब्वे, ज्ञावेनलगायतका देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।