होम आइसोलेसनमा रहेका संक्रमितको उपचारका लागि लैजाँदै गर्दा मृत्यु

विराटनगरमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका २ का स्थानीय ५२ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि घरबाट विराट शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार संक्रमण संक्रमण पुष्टि भएको ९ दिनदेखि पुरुष घरमै स्वास्थ्यलाभ गर्दै आएका थियो।

यद्धपी, आइतबार एक्कासी पिसाब बन्द भएर विरामीको श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले अस्पताल पुराउने क्रममा बाटोमा मृत्यु भएको उनले बताए।

विरामी पुरुषमा कोरोनाको लक्षण देखिएर असोज ६ स्वाब नमूनाको रिपोर्ट पोजिटिभ आएको थियो। त्यसयता उनी घरमै रहेका थिए। शनिबारदेखि उनको पिसाब बन्द भएको पौडेलले जानकारी दिए।

आइतबार विहान करिब ११ बजे श्वास फेर्न असहज भएपछि परिवारका सदस्यले घरमै अक्सिजन दिएका थिए।

उच्च रक्तचापका विरामीमा समस्या थप बल्झिएपछि परिवारले एम्बुलेन्सको ब्यवस्था गरि अस्पताल पुराएका थिए।