शान्तिमान कार्की: सत्ताधारी पार्टी भित्र गत चुनावमा प्राप्त भारी बहुमतको राप अझै घटि सकेको छैन,त्यसकै सेरोफेरोमा बसेर पद र पैसाको लागि सर्वत्र भिडन्त जारी छ । केन्द्र,प्रदेश र स्थानीय निकायमा लगभग सत्तारुढ पार्टीको बर्चस्व छ । प्रतिपक्षी कांग्रेस आफ्नै अन्तरकलह र बिगतको गल्तिका कारण जनता सामु मुख देखाउन लायक स्थिति बनि नसकेको अबस्था छ ।
यो ब्यवस्था संग असहमति राख्ने राजनितिक शक्तिहरुले अहिलेको शक्तिसाली सरकारको कमजोर अबस्थामा पनि केहि बिगार्न सक्ने अबस्थामा छैनन् । यसरी हेर्दा अहिलेको अबस्थामा छिट्टै परिवर्तनको सम्भावना बहुतै कम देखिन्छ।शासकहरुले तब मात्रै शासन ब्यबस्थामा सुधार गर्दछन् जब उनिहरु पुरानै अबस्थामा शासन चलाउन असफल हुन्छन् र सिमित सुधारलाई परिवर्तनको जामा पहिर्याएर नयाॅं अनुहारका शासक सहित परिवर्तित अबस्थामा पनि पुरातन शासन ब्यवस्था कायम गर्दछन्,हामीकहाॅं यस्तै खाले परिवर्तनबाट राजतन्त्रात्मक संसदीय ब्यवस्थाको सट्टामा लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरिएको छ,भनिन्छ।लामो जनआन्दोलन र दश बर्षे जनयुद्धको कारण पुराना शासकहरुले शासन चलाउन असम्भव भए पछि बल्ल अहिलेको गणतन्त्र नेपाल बनेको हो ।
तर यसको पछाडी परिवर्तनलाई पूर्णता दिने उदेश्य नभएर जनताको बिरोधलाई मत्थर पारेर पुरानै ब्यवस्था टिकाई राख्ने देशी बिदेशी शक्ति र नेपाली शासक वर्गको चाहनाले पूर्णता पाएको छ।जुन अहिलेको हाम्रो राजनितिक ,सामाजिक ,आर्थिक र साॅंस्कृतिक ब्यवस्थाको स्वरुपले प्रमाणित गरेको छ।











