स्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेत कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँहरुमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बोल्दै यस्तो आग्रह गरेका हुन्।
उनले भने, ‘देशभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यका लगायत मोरङ, चितवन र सुर्खेत कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँहरुमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन मन्त्रालयले आग्रह गर्दछ।’
उनका अनुसार ती ठाउँमा संक्रमणको जोखिम उच्च रहेको भन्दै ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ।
त्यस्ता व्यक्तिहरू घर बाहिर निस्कन परेको अवस्थामा अनिवार्य मास्कको प्रयोग गर्न मन्त्रालयले भनेको छ। साथै दुई मिटरको दूरी कायम गर्न र कामबाट फर्केपछि साबुन पानीले हात धुन मन्त्रालयको सुझाव छ।
पछिल्लो समय उपत्यका लगायत बढी जनघनत्व भएको सहरहरूमा संक्रमण दर बढेको देखिएको छ।
आइतबारमात्र काठमाडौं उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। अहिले देशभर थपिने संक्रमित संख्यामध्ये आधाभन्दा बढी संक्रमित उपत्यकाका छन्।