खाने पानीमा मानिसको मस्तिष्क खाने जीवाणु पाइयाे

अमेरिकाको टेक्सासमा खाने पानीको स्रोतमा मानिसको मस्तिष्क खाने जीवाणु पाइएको छ। पानीको स्रोतमा घातक जीवाणु पाइएपछि स्थानीय प्रशासनले टेक्सासको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न सुझाव दिएको छ।

नेगलेरिया फाउलेरी नामक मस्तिष्क खाने घातक जीवाणु पानीको स्रोतमा फैलिएको हुन सक्ने भन्दै स्थानीय खानेपानी वितरण निकायले लेक ज्याक्सनका झण्डै २७ हजार बासिन्दालाई धाराको पानी प्रयोग नगर्न भनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Central Texas Water Supply

नेगलेरिया फाउलेरी नाम गरेको अमिवा साधारणतया संक्रमित पानीको माध्यमबाट मानिसको नाक हुँदै प्रवेश गरेर मस्तिष्कमा जान्छ। सो अमिवाको संक्रमण घातक हुन्छ ।

मस्तिष्क खाने अमिवाको संक्रमण अति न्यून रहेको छ, तर संक्रमण भएमा ज्यानै जाने जोखिम हुने भएकाले सचेत रहन स्थानीय प्रशासनले भनेको हो । अमेरिकामा सन् २००९ देखि २०१८ सम्म नेगलेरिया फाउलेरी अमिवाबाट संक्रमित हुनेको संख्या मात्रै ३४ थियो ।

शुक्रबार टेक्सासका ८ बस्तीका बासिन्दालाई धाराको पानी ट्वाइलेट फ्लस गर्न बाहेक प्रयोग नगर्न प्रशासनले भनेको थियो । तर शनिबार अरु सात बस्तीमा सो निर्देशक हटाइयो, अहिले लेक ज्याक्सनका बासिन्दालाई मात्रै धाराको पानी प्रयोग नगर्न भनिएको हो ।

पानीको स्रोतमा अमिवाको संक्रमण भए नभएको थाहा पाउनका लागि अनुसन्धान भइरहेको र त्यसको नतिजा नआउँदासम्म सावधानी अपनाउनु पर्ने टेक्सासको कमिसन अन इनभाइरोमेन्टल क्वालिटीले जनाएको छ ।

नेगलेरिया फाउलेरी विश्वभर पाइन्छ । अमेरिकामा अधिकांश संक्रमण दक्षिणी राज्यहरुमा अमिवा युक्त पानीको स्रोतबाट फैलिएको पाइएको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जनाएको छ ।

गएको जुलाईमा फ्लोरिडामा एक व्यक्तिमा अमिवाको संक्रमण पुष्टि भएको थियो।