मौसम: तीनवटा प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने

मुलुकभरको मौसममा आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

आइतबार राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहानीपख प्रदेश १ मा पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको मौसम विभागले जनाएको छ।