बर्दिया: काेराेना भाइरसकाे संक्रमणबाट बर्दियाकाे बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोद अग्रवालकाे निधन भएको छ। उनकाे भेरी अस्पताल नेपालगञ्जमा शनिबार निधन भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार ५० वर्षीय क्याम्पस प्रमुखको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
असोज ३ गते कोरोना पुष्टि भएका क्याम्पस प्रमुख होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा गम्भीर समस्या भएपछि भेरी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याएकाे केहीबरेमै उनको मृत्यु भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए।
‘भेरीमा उपचार गर्न ल्याइएको थियो। गेटबाट भित्र पस्ने बित्तिकै मृत्यु भयो’, अस्पताल विकास समितिका अध्यक्ष धितालले भने, ‘आइसोलेसनमा पुर्याएर उपचार गर्न पाइएन।’
हालसम्म बर्दियाका तीन जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ।