केन्द्रीय कारागार, सुन्धारामा रहेका २५ जना कैदीबन्दी शनिबार छुटे, राष्ट्रपतिद्वारा आम माफी पाएर। यीमध्ये ८ जना ज्यान मारेको (कर्तव्य ज्यान) र ४ जना सवारी ज्यान(सवारीले ज्यान लिएका)का कैदी छन्।
स्रोतका अनुसार आम माफी पाएका यी कर्तव्य ज्यानका कैदीमध्ये चार जनालाई जिल्ला अदालतले जन्मकैद(तत्कालिन मुलुकी ऐनअनुसार २० वर्ष कैद) को सजाय सुनाएको थियो। पछि सर्वोच्च अदालतले उनीहरुको कैद सजाय जन्मकैदबाट घटाएर कम गरेको थियो। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४) तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ अनुसार जन्मकैद सजाय भएका कैदीलाई आम माफी दिन मिल्दैन।
५० प्रतिशत कैद सजाय भुक्तान गरेका, असल चालचलन भएका र नेगेटिभ कसुरबाहेकका कसुरका कैदीलाई संविधान दिवश र गणतन्त्र दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिने चलन छ।
यसपटकको संविधान दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार २ सय ७६ पुरुष र १३ महिला कैदीसहित २ सय ८९ कैदीलाई आम माफी दिएकी छिन्। यसमा कर्तव्य ज्यानका ७३ कैदी छन्। यसैगरि सवारी ज्यानका ८७ कैदी छन्। ज्यान मार्ने उद्योगका ४९, चोरीका ३०, डाकाका १६, सरकारी दस्तखतका ६, हात हतियार तथा खरखजनाका ६, कुटपिट तथा अङ्गभङ्गका ५, ठगीका ४ र अन्य विभिन्न कसुरका १३ जना कैदीलाई आम माफी दिइएको छ। कारागार विभागबाट जारी विवरणमा उल्लेख छ ।