जनयुद्धका शहिद महेन्द्र श्रेष्ठको आज २२ औँ स्मृती दिवस सम्पन्न भएको छ । सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनद्वारा आयोजित स्मृती दिवसमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य तथा पूर्व कृषि मन्त्री हरिवोल गजुरेलले जनयुद्धमा सिन्धुलीलाई ‘पूर्वको रोल्पा’को रुपमा पहिचान दिलाउन शहिद महेन्द्र श्रेष्ठको ठूलो योगदान गरेको स्मरण गरे ।
गजुरेलले भने, ‘जनयुद्धकालमा भारतमा शैन्य तालिम लिनका लागि हालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) र सिन्धुलीका महेन्द्र श्रेष्ठ गरी दुई जनालाई मात्र पठाइएको थियो, त्यही भएर पनि सिन्धुलीलाई पूर्वको रोल्पा भनिएको थियो ।’

सिन्धुली क्षेत्र नं २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने गजुरेलले शहिदले देखेको सपना साकार पार्नकै लागि पार्टी भित्र छलफल र बहस हुने गरेको बताए । उनले भने, ‘हामीले अँध्यारो पक्ष मात्र हेर्नु हुँदैन ।’ गजुरेलले शहिदको सपना साकार पार्ने भन्दै शहिद पारिवारलाई सांसद बनाउनु र सरकारी नियुक्ति दिनु शहिदप्रति सच्चा सम्मान नभई अपमान हो भने । शहिदको सपना सच्चा रुपमा पुरा गर्ने हो भने आमजनताको आकांक्षा, चाहना, आवश्यकता पुरा गर्दै समान रुपले विकास हुनुपर्ने उनको भनाई छ । उनले महेन्द्रलाई सही अर्थमा सम्मान गर्ने हो भने उनका सकारात्मक पक्षलाई उजागर गरेर त्यसबाट फाइदा लिनु पर्ने धारणा ब्यक्त गरे ।
जनयुद्धमा शहिद महेन्द्र श्रेष्ठसँगै काम गरेका ओखलढुंगाका तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलले महेन्द्र श्रेष्ठलाई पार्टीले युद्धकै क्रममा अघोषित रुपमा मारेको र बर्गदुस्मनले घोषित रुपमा मारेको बताए । उनले यसको सत्यतथ्य खुल्दै जाला भन्ने अपेक्षा ब्यक्त गरे ।

नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गणेश पहाडीले राणा बिरोधी आन्दोलन, पञ्चायत बिरुद्ध आन्दोलन, जनयुद्ध र अन्य आन्दोलनका क्रममा ज्यान गुमाएका शहिदहरुको सपना र योजनाले नै देश आजको अवस्थामा आइपुगेकाले शहिदहरुलाई सम्मान गर्दै उनीहरुको बाटोमा निरन्तर लागिरहे मात्र समाजवादको गन्तब्यमा पुग्न सकिने बताए ।
शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनकी उपाध्यक्ष ममता ढकालले सबै शहिदहरुलाई समान रुपले सम्मान गर्नु पर्ने बताइन् ।
सिन्धुलीको भद्रकाली गाबिस १, अमलेमा २०२६ साल असार ६ गते जन्मिएका श्रेष्ठलाई २०५५ साल असोज ४ गते, तत्कालीन राज्यशत्ताले उदयपुर जिल्लाको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले हत्या गरेको थियो ।