संविधानकै खिल्ली नउडाऊ

सम्पादकीय

आज असोज ३ गते अर्थात गणतन्त्र नेपालको संविधान जारी भएको पाँच वर्ष पुरा भएको छ । तीन सरकारले दिनसम्म संविधान दिवसका उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय पर्व मनाउने घोषणा गर्नुका साथै सैनिक मञ्च टुँडिखेलमा उच्च पदस्थ सैनिक अधिकारीका बीच एक कार्यक्रमको आयोजनागरी विगतमा भएका पञ्चायतकालिन परम्परालाई निरन्तरता दिने कामहरु भए । आजैक दिन आमजनताको सहभागितामा निर्वाचित संविधानसभाले संविधान जारी गरिरहँदा जनताको एउटा हिस्सा सडकमा आन्दोलनको राँको सल्काइरहेको थियो ।
एकातिर दीपावली मनाइरहने र अर्कोतिर ब्ल्याक आउट गर्ने पनि नेपाली जनता नै थिए यो संविधान जारी गर्दाको कारणले देशले चार महिना लामो भारतीय नाकाबन्दीको सामना गर्नुप¥यो ।
संविधानको परिकल्पनाअनुरूप तीनै तहका निर्वाचन सम्पन्न भए, अधिकांश संवैधानिक अंगहरूको गठन र सक्रियताले गति लियो । प्रदेश र स्थानीय तहका सरकारले क्रमशः आफ्नो भूमिका स्थापित गर्दै लगेका छन् । यति लामो अबधीसम्म पनि कतिपय संस्था र संरचना बनेका छैनन् । जनताले मौलिक हकका रूपमा प्राप्त गर्नुपर्ने अधिकारको सूची लामो भए पनि त्यसको उपभोगका अझै कानुनी अल्झनहरु कायमैंछन् । तर पनि नेपाल एउटा राजनैतिक कोर्ष पुरा गरेर अगाडि बढिरहेको छ ।
संविधान जारी भएको यो अबधीमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान निर्माण कार्यको नेतृत्व पनि गरेका थिए, तर अहिलेसम्म आम नागरिकको आर्थिक र सामाजिक रूपान्तरणमा ध्यान दिइएन बरु सत्तालिप्साका अनेक छिनाझप्टीमा तल्लीन रहिरहे ।
जनताबाट तिरस्कृत भएका वामदेब गौतमको नियुक्ति प्रकरणले आन्दोलनको मर्म, भावना र लोकतन्त्रकै खिल्ली उडाइरहेको छ । जसले परिवर्तनको नेतृत्व गरे, तीनै नेता, दल र स्वम्ं जारी संविधानकै मानमर्दन गरिरहेको छ ।
सरकार र नेकपाको पछिल्लो गतिबिधीले उनीहरूको यो संविधानप्रतिको प्रतिबद्धतामा शंसय पैदा गरेको छ । प्रतिपक्षी दलले आफ्नो उपस्थितिलाई सत्ता साझेदारीको हतियार मात्रै बनाउन खोजिरह्यो । प्रतिपक्षको भूमिकाबाट जनताका पक्षमा गरिनु पर्ने गतिविधीलाई नियुक्तीमा बार्गेनिङको साधान बनाएर लोकतन्त्रको मूल्यमाथिनैं प्रहार गरिरहे । जनताबाट अस्विकृत नेता गौतमलाई राष्ट्रपतिमार्फत संसदमा छिराएर जनअभिमतको खिल्ली उडाउँदा र संविधानको भावनामाथि प्रहार गरिरहँदा प्रतिपक्षी दल भाग शान्तिमा रामाउनुले मुलुक अन्धकारतर्फ जान थालिरहेको संकेत गर्दछ । यो प्रकरणले सम्मानित राष्ट्रपतिबाट राजनीतिक अवसरवादलाई प्रश्रय दिएको मात्रै होइन, जनअभिमतको खिल्ली उडाइरहेको छ । आजको संविधान दिवसको सन्दर्भलाई ओझेल पार्ने भएका अपमानजन कार्यले संविधानसभाका लागि संघर्ष गर्ने जनता र बलिदानी गर्ने शहिदहरुको भावनामाथि गंभीर चोट पु¥याएको छ । तसर्थ हामी सबैले एकै साथ भन्नै पर्ने भएको छः सरकार आफैंले बनाएको संविधानको खिल्ली नउडाऊ । र आफ्ना हरेक काम कारबाही संविधान र जनआन्दोलन, जनयुद्ध र शहिदले देखाएको मार्ग अनुसार केन्द्रीत गर ।