प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार देशैभरका अस्पतलालाई मृत्यु भएका कुनै पनि व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन जारी गरेको थियो।
उक्त निर्णय आपत्तिजनक भएको भन्दै कांग्रेसले तुरुन्त फिर्ता लिएर शंकास्पद मृत्यु भएकाको समेत अनिवार्य परीक्षण गर्ने व्यवस्था गर्न माग गरेको हो।
प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ। तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ।’
नागरिकको परीक्षण र उपचार गर्ने दायित्वबाट सरकार भाग्न नमिल्ने ठहर कांग्रेसले गरेको छ। जिउँदो छँदा उपचार नपाउने अवस्था छँदाछँदै मरेपछि पनि रोग लागेको हो वा होइन भन्ने परीक्षण नगर्नु अत्यन्त गैरजिम्मेवारपूर्ण भएको कांग्रेसको आरोप छ।
‘कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चाश्च मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए,’ कांग्रेसले अगाडि भनेको छ, ‘मृत्यु पछि मात्रै पीसीआर? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजLमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफुभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ।’
सरकारले कोरोना परिक्षणको शुल्क दुई हजार तोकेको छ।











