राष्ट्रियसभा सदस्यको सपथ लिएपछि वामदेवले भने, ‘जनताप्रति बफादार भएर भूमिका निभाउने छु’

गौतमलाई सांसदको ब्याच लगाइदिँदै राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् । 

सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने छैन,’ गौतमले भने ।

नेकपाका सचिवालय सदस्य समेत रहेका नेता गौतमले पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने पनि बताएका छन् । सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले मोनिनत गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो । यो कोटामा गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।