सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट छ महिनादेखि खाली छ ।
नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।
उनी राष्ट्रियसभामा गए पनि प्रतिनिधिसभामा हारेका कारण प्रनिधिसभाको यो कार्यकालभरि मन्त्री हुन नपाउने पूर्वसभामुख सुवास नेम्बाङ र संविधानविद डा. भीमार्जुन आचार्य लगायतले भन्दै आएका छन् ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम वर्दियाबाट पराजित भएका थिए। पटक पटकको प्रयासपछि गौतम राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्।
सरकारले राष्ट्रियसभामा मनोनित गर्ने बाँकी दुई सिटमध्ये रामनारायण बिडारी र विमाल पौडेल रहेका छन्। एक मन्त्रीका अनुसार बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्ति गर्ने निर्णय भने गरेन।
यस्तै सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पाएका छन्।











