सेवा बाहिर रहेका र निवृत्त स्वास्थ्यकर्मीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौ: कोरोना संक्रमण विरुद्ध लड्नलाई सरकारले सेवाबाहिर रहेका र सेवा निवृत्त चिकित्सक स्वास्थ्यकर्मीलाई सेवामा फर्कन स्वेच्छिक आव्हान गरेको छ। यस्तै छात्रवृत्रिमा अध्ययनरत चिकित्सक परिचालन गर्ने निर्णय गरेको छ। शुक्रबार भएको स्वास्थ्य मन्त्रालयको फेसबुक लाइभमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनशक्ति व्यवस्थापनको व्यवस्था मिलाइएको बताए।

यस्तै देवकोटाले चैत्र ११ गते बसेको मन्त्री परिषद्को बैठकले गरेको निर्णयले विभिन्न तहका कर्मचारीको ३ देखि ५ दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय भएकोमा चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब नकाटिने भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

यस्तै कोभिड १९ उपचारको लागि तोकिएका अस्पताल र कोभिड उपचार नहुने अस्पतालको काम के के भन्ने बारे स्पष्ट खाका सहित पत्राचार गर्ने जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले अहिले कोरोना भाइरसको संक्रमण परिक्षणको दायरा बढाएको बताएको छ। हालसम्म ३५२४ जम्मा परिक्षण भएकोमा ६३० नयाँ परिक्षण भएको छ। यस्तै अहिले देशैभरी ८ हजार ६६० जना क्वारेनटाइनमा राखिएको छ। १२५ जना आइसोलेशनमा छन्।

यस्तै कोशी अस्पतालमा शुक्रबारदेखि नमुना परिक्षण सुरु भएको छ । योसँगै नेपालमा जम्मा ११ स्थानबाट नमुना परीक्षण सुरु भएको छ। अहिले सम्म नेपालमा जम्मा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।