सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।
कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका क्षेत्रमा खुलेका खाद्यान्न, तरकारी, फलफुल पसलहरुको अनुगमनपछि उक्त निश्कर्ष निकालिएको हो ।

अनुगमनमा संलग्न अधिकारीहरुका अनुसार कमलामाई नगरपालिकाको वडा नं.४, ५, ६, ७ र ९ नम्वर वडामा रहेका खाद्यान्न तरकारी, फलफुल तथा ग्यास पसलको अनुगमनका क्रममा भिमान बजारको भिम जनरल स्टोर्स र विनिसा जेनरल स्टोर्समा म्याद नाधेका खाद्य तथा पेय पदार्थ नष्ट गरिएको छ । हामीले गुनासो आएपछि पहिलो चरणमा अनुगमन गरेर उनीहरुले विक्री गर्दैआएका खाद्य तथा तरकारीको मूल्य विवरण लिनुका साथै म्याद नाघेका पेय पदार्थ नष्ट गरेका छौं, अनुमगनमा संलग्न शुशील बर्माले भने ।
उनका अनुसार म्याद नाघेका खाद्य सामाग्री र गुणस्तहिन तरकारी बिक्री गर्नेहरुलाई काजगमा सही छापा गराउन लगाएर आगामी दिनमा त्यस्तो गलत काम नगर्न सचेत गराएको र फेरी उनीहरुको उजुरी आए कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।
अनुगमनका क्रममा अधिकांश पसलहरुमा मुल्यसूचि नभएको र सिन्धुली सदरमुकामको भन्दा अन्यत्रका वजारमा दैनिक उपभोग्य बस्तु तथा फलफुलको मूल्य धेरै फरक देखिएको बर्माले जानकारी दिए ।
फलफुल पसलको अनुगमनको निश्कर्ष सुनाउँदै उनले भने– नगरपालिकाको केन्द्रमै रहेका फलफुल पसलमा मुल्यको एकरुपता छैन । बजार र माझीटारमै फलफुलको मुल्यमा ५० देखी १०० रुपैयाँको अन्तर पाइयो, बर्माले भने । कमलामाई नगरपालिकाले आजसम्म लकडाउनमा खुलेका ३१ वटा पसलको अनुगमन गरिसकेको जनाएको छ । नगरपालिकाका सुचना अधिकारी सागरकुमार ढकालका अनुसार स्थानीय सरकार भएकाले लकडाउनका समयमा नागरिक स्तरबाट आएका गुनासोलाई सम्वोधन गर्ने क्रममा कतै राहत त कतै बजार अनुगमन गर्ने क्रम निरन्तर जारी रहेको छ । उनका अनुसार आज कमलामाईको वडा नं. १ र वडा नंं ८ ले आफ्ना गरिव जनतालाई राहत वितरण गरेको छ । (कमलामाई फिचर सेवा)