नेपालमा क्षति पुर्याउन सक्ने खालका ४७ वटा हिमतालहरु फुट्न सक्ने खतरामा रहेको पाइएको छ ।
अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले हालै गरेको अध्ययनमा नेपालमा २१ वटा, तिब्बतमा २५ वटा र भारतमा एउटा ताल फुट्न सक्ने जोखिममा देखिएको इसिमोडले ट्वीटमार्फत जानकारी गराएको छ । ती ताल फुटेमा नेपालका नदीमा बाढी आउँछ ।
खतरामा रहेका ४७ मध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको पनि इसिमोडले जनाएको छ । ४७ मध्ये ४२ वटा हिमताल कोशी नदी बेसिनका रहेका छन् । यस्तै तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेका इसिमोडले जनाएको छ ।
अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा तीन हजार छ सय २४ वटा हिमताल पाइएका छन् । तालहरूको विशेषता एवम् तालहरूको प्राकृतिक बाँध, स्रोत, हिमतालको गतिविधि तथा वरिपरिको अवस्थालाई अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा विषम मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई भने नहेरिएको इसिमोडले जनाएको छ । जोखिमपूर्ण अवस्थामा रहेका हिमतालहरू फुटे भने सबैभन्दा बढी असर पहाडी क्षेत्रमा देखिनेछ ।
समथर भूभागमा असर कम भए पनि प्रभाव भने धेरै तलसम्म देखिने हिमताल विज्ञ श्रीकमल द्विवेदीले बताए । हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम पनि बढिरहेकाले कैयौँ हिमताल फुट्ने जोखिम बढेको द्विवेदीले बताए ।
