सत्तारुढ नेकपामा गुट चलाउन र सामाजिक सञ्जालबाट गाली गर्न नपाइने

नेकपामा गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप लगाउन नपाउने भएको छ।

विवाद बढ्दै जाँदा भिन्न पार्टी जस्तो गरी गुटगत गतिविधि हुँदै आएकोमा अब त्यसलाई नियन्त्रण गर्ने प्रस्ताव अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अघि सारेका हुन्।

शुक्रबार बस्ने स्थायी समितिमा पेश गर्न कार्यदलको प्रतिवेदनका आधारमा तयार पारेको प्रस्तावमा ओली दाहालले अब गुटगत गतिविधिलाई पूर्ण नियन्त्रण गर्ने कार्ययोजना अघि सारेका छन्।

मुख्य गुट नै चलाइ रहेका अध्यक्ष ओली र दाहालले ‘गुटले पार्टीलाई नै विस्थापित गर्न खोजेको’ भन्दै चिन्तासमेत व्यक्त गरेका छन्। गत असार १० गते सुरु भएको स्थायी समिति बैठकले निरन्तरता नपाउँदा नेकपा विभाजनको संघारमा पुगेको थियो।

अध्यक्ष ओलीले बालुवाटारबाटै आफ्नो गुटलाई परिचालन गर्दै आएका थिए भने अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि भिन्नै पार्टीको छनक दिने गरी गुटका गतिविधि अघि बढाएका थिए।

अध्यक्षले तयार पारेको प्रस्तावमा भनिएको छ, ‘आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग– अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशीत र पार्टी भित्रको वहस– विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ।’

नेकपामा तीन ठूला गुट र अन्य सहायक गुटहरु सधैँ सक्रिय छन्। पूर्वमाओवादी समर्थित गुटको नेतृत्व दाहालले गर्दै आएका छन् भने पूर्व एमालेभित्र रहेको ओली र नेपाल गुट पनि उत्तिकै सशक्त गुटका रुपमा रहेका छन्।

शुक्रबार स्थायी कमिटिमा पेश हुने प्रस्तावमा गुटले पार्टीमा अराजकता पैदा गरेको र नेतृत्वले नै त्यसलाई प्रशय दिएको स्वीकार गरिएको छ।

‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहिनता फैलिँदै गयो। विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे, कार्ययोजनाम भनिएको छ।

त्यस्तै सामाजिक सञ्जालमा दुई वा तीन पक्षमा विभाजित भएर अर्को पक्षमाथि आरोप लगाउने, खुइल्याउने जस्ता कार्यलाई पनि नियन्त्रण गर्ने भनिएको छ।

प्रस्तावमा लेखिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।’

नेकपाले पारदर्शी र जवाफदेही जीवन शैलीलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ। पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिको जीवनशैली भद्धा र अपारदर्शी हुँदै भएकाले त्यसलाई विगतमा जारी गरिएइको आचारसंहिता अनुसार नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ।

‘विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागु गर्ने निर्णय गर्दछ। सबैलाई, विशेषतः जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ’, कार्ययोजनामा भनिएको छ।