अमेरिकी चुनावमा रुसी दखल सम्बन्धी सूचना लुकाउन नेतृत्वले दबाब दिएको गुप्तचर अधिकारीकाे खुलासा

अमेरिकी चुनावमा रुसको दखल प्रयासका सम्बन्धमा प्राप्त गुप्तचर सूचना लुकाउनका लागि होमल्याण्ड सेक्यूरिटी विभागका प्रमुखले आफूलाई दबाब दिएको उच्च गुप्तचर अधिकारीले बताएका छन् ।

चुनावमा रुसले दखल दिएको वा दिन सक्ने सूचना जस्ताको त्यस्तै सार्वजनिक गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खराब’ देखाउने भन्दै विभागका नेतृत्वकर्ताले ‘डाउनप्ले’ का लागि दबाब दिएको ती गुप्तचर अधिकारीले बताएका हुन् ।

चुनावमा रुसी दखलसहितका अरु विषय तथा ह्वाइट सुप्रिमेसीको विषयमा सचेतनात्मक प्रतिवेदनको विश्लेषण नदिनका चाड वुल्फले दबाब दिएको ब्रायन मर्फीले बताएका छन् ।

आफूले गुप्तचर सूचना दिएकै कारण आफूलाई घटुवा गरिएको मर्फीले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गुप्तचर सूचना लुकाउन दिइएको आदेश गैरकानूनी रहेको उनले बताए ।
ह्वाइट हाउस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले आरोप अस्वीकार गरेको छ ।

गुप्तचर सूचना लुकाउनका लागि दबाब दिइएको भन्ने उजुरी सम्बन्धी जानकारी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको सदनको गुप्तचर समितिले सार्वजनिक गरेको छ ।

समितिले मर्फीलाई संसदीय समितिको सुनुवाईमा उपस्थित हुन पनि भनेको छ । सन् २०१८ को मार्चदेखि २०२० को अगस्टबिचमा पटकपटक गुप्तचर सूचना सेन्सर गर्न खोजिएको अभियोग छ ।