वैचारिक स्पष्टता नहुँदा पार्टी कमजोर देखियो: लेखनाथ न्यौपाने

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीलाई बलियो बनाउने आफुहरुको उद्देश्य रहेको बताएका छन् । उनले भने,‘हामी कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तै बनाउने, आफ्नो वर्गमा खुट्टा टेकाउने, त्यो वर्गको मुक्तिको विचारलाई जनताको बीचमा घनिभूत ढंगबाट लैजाने, त्यसो गर्दा हाम्रो संगठन बलशाली नै हुन्छ ।’ वैचारिक स्पष्टता नहुँदा पार्टी कमजोर भएकोजस्तो देखिएको उनको टिप्पणी छ ।
मंगलबार साँझ प्रसारण भएको एक टेलिभिजनसँग विशेष कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले गत असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटी बैठक बस्न नसक्नु र त्यो बैठक बसाउनको लागि कार्यदल गठन गरेर रिपोर्ट बनाउनुपर्ने अवस्थामा पुग्नु नै नेकपाको नेता हुनुको नाताले आफूलाई लाज लागेको टिप्पणी गरे ।

उनले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय ठिक वा बेठिक भन्ने विषयमा सैद्धान्तिक बहस गर्न सकिने भएपनि पार्टीले निर्णय गरिसकेकोले त्यसलाई कार्यान्वयन गरेर जानुको विकल्प नरहेको जिकिर गरे । तर, उनले आफ्नो व्यक्तिग मत भनेको कोही पनि नेता एक पटक चुनाव हारेपछि पाँच वर्षसम्म त्यही पदमा जान नहुने बताए ।