कुलमानलाई भोलि सरकारले पुनः नियुक्तिगर्दै

नेपाल विद्युत् प्राधिकरको प्रमुख कार्यकारी अधिकृत (सिइ‌ओ)मा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने तयारी अघि बढाएको छ।

सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानु पर्ने कानुनी व्यवस्था छ। उक्त प्रावधानअनुसार बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने भएको हो।

मन्त्रालय स्रोतले देश सञ्चारसँग भन्यो, ‘भोलिको मन्त्रिपरिषद बैठकमा उहाँको पुनः नियुक्तिको प्रस्ताव लैजाने तयारी भएको छ। हेरौं अब भोलिसम्म के हुन्छ।’

घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ र उनलाई प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने चर्को दबाब सर्वसधारणबाट आइरहेको छ। चार वर्षअघि १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ घिसिङ सिइयोका रुपमा आएपछि अन्त्य भएको थियो।

उनले जिम्मवारी लिएपछि घाटामा रहेको प्राधिकरणलाई गत आर्थिक वर्षसम्म ९ अर्ब सञ्चित नाफामा पु¥याएका छन्।

प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुला प्रतिस्पर्धाबाट ल्याउनु पर्ने विनियमावलीको व्यवस्था छ। पुरानैलाई निरन्तरता दिन खुला प्रतिस्पर्धामा जानु नपर्ने र हालसम्म सरकारले खुला प्रतिस्पर्धाबाट उम्मेद्वार आह्वान नगरेकाले कुलमानको संभावना बलियो रहेको ऊर्जा मन्त्रालय स्रोतको दाबी छ।

ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमानलाई नियुक्त गर्न अझै तयार भइसकेका छैनन्।

उनको कार्यशैलीप्रति ओलीले असन्तुष्टि व्यक्त जनाइ रहेका छन्। नेकपाक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रंचण्डले भने घिसिङलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन्।

उनको नियुक्तिबारे ओली र दाहालबीच बुधबार बालुवाटारमा छलफल भएको थियो।