प्रहरीको यातनाको कारण हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै तत्कालिन प्रहरी उपरीक्षकसहित ६ जना विरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा जाहिरी दर्ता भएको छ।
गरुडा नगरपालिका वडा नं. ५ जिगडियाका ५२ वर्षीय पनिलाल चमारले ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तको प्रहरी यातनाको कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सहित ६ जना विरुद्ध मुद्दा दायर गरेका छन्।
गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरन्जन चमारको हत्या अभियोगमा पक्राउ परेका विजय महराको प्रहरी हिरासतमा यातना दिएपछि सिकिस्त भएका उनको उपचारको क्रममा मृत्यु भएको भन्दै मृतकका बुवा पनिलालले जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खडका, ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरिक्षक नविन सिंह, प्रहरी नायब निरिक्षक विरेन्द्र यादव, हवल्दार हिरोज मिया धुनिया र मुन्ना सिंह विरुद्ध यातना र ज्यान सम्बन्धी मुद्दा दर्ता गराएका छन्।
यस घटनामा रौतहटका तत्कालिन प्रहरी उपरीक्षक रविराज खडकालाई काठमाडौँ तानिएको छ भने ईलाका प्रहरी कार्यालय गरुडाका ईन्चार्ज प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोलाई प्रदेश प्रहरीको कार्यालय जनकपुरमा तानिएको छ।
त्यस्तै २ नंम्बर प्रदेश प्रहरीले प्रहरी निरीक्षक नविन कुमार सिंह तथा हवल्दार मुन्ना कुमार सिंह र फिरोज मियाँलाई निलम्बन गरेको छ ।











