रुसी विपक्षी नेता नाभाल्नीलाई नोभिचोक एजेन्टमार्फत विषाक्त गरिएको देखिन्छः जर्मनी

अकश्मात गम्भीर बिरामी परी कोमामा गएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसले विकास गरेको नोभिचोक नर्भ एजेन्ट नामक विषादी दिइएको जर्मनीले जनाएको छ ।

सुरुवाति उपचार रुसमा गरेपछि नाभाल्नीलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । उनको त्यहाँ उपचार जारी छ ।

उपचार संलग्न डाक्टरहरुबाट प्राप्त जानकारी र परीक्षणहरुबाट नाभाल्नी अकश्मान बिरामी पर्नुको कारण नोभिचोक नर्भ एजेन्ट रहेको जर्मनीले जनाएको छ ।

जर्मन चान्सलर एङ्गेला मर्केलले नाभाल्नीलाई हत्या गर्न खोजिएको देखिने बताएकी छन् । विश्वले त्यस्तो गरिनुको जवाफ रुसबाट खोजिरहेको उनले बताएकी छन् ।

कोमामा रहेका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ। तस्बिर : रोयटर्स

रुसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी बिरामी परेका थिए। लगत्तै कोमामा गएका उनको सुरुमा रुसमै उपचार भएको थियो।

तर ज्यानको जोखिम रहेको भन्दै उनलाई थप उपचारका लागि जर्मनी लगिएको हो । रुसमा उनको उपचारमा संलग्न डाक्टरहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

भ्रष्टाचार विरोधी अभियन्ता ४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन्।

गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेका थिए ।

जर्मनीले नाभाल्नीलाई विषाक्त गरिएको बताएपछि रुसले त्यस सम्बन्धी पूर्ण जानकारी माग गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभले जर्मनीले भनेको जस्तो नोभिचोक एजेन्ट दिइएको भन्ने प्रमाणले पुष्टि नगर्ने दाबी गरेकी छन् ।