बागलुङको सुकुर्दुङ खोलामा कम्तीमा ३६ जना बेपत्ता, ११ जनाको शव फेला ,३१ घर बगायो (अपडेट)

बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । 

बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । पहिरोका कारण ३६ जना सम्पर्क विहिन भएका थिए ।

बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताए । उनले भने, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दैछ । पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ ।