भक्तपुरमा एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको छ।
त्यसैगरी रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका संक्रमितको बिहीबार राती २ः३० बजे मृत्यु भएको हो। यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो।
त्यसैगरी झापाका एक बृद्धको मृत्यु भएको छ। कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले जानकारी दिइन्।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उनको उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो।











