हाम्रा राजनेताहरु फलेका छन् र पाकेका पनि छन् । आर्थिक र सामाजिक रुपमा सम्पन्न बनेका छन् । रोग, भोक र शोकले मुलुक आक्रान्त छ । जनताको मृत्यु या संकट सरकार र हाम्रा राजनेताका लागि चासोको विषय बन्दैन । बालुवाटारबाट सरकार चलाएका केपी शर्मा ओली हुन्, या उनको हातबाट शासनको बागडोर खोस्न उद्यत अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल कोरोना संक्रमणबाट उत्पन्न परिस्थिति र धनजनको क्षतिमा, आफ्ना नागरिक बचाउन ‘कुरै’ उठाउँदैनन् । किनकी ‘सत्ता’को छिनाझिप्टी सबैको चाहना थियोे । ‘राजनेताको कर्तव्य र दायित्व’मा कसैको ध्यानैछैन । सरकारमा बसेर यो वा त्यो जनप्रिय बन्ला, पार्टी र कार्यकर्ताका बीच लोकप्रिय बन्ला र त्यसलाई कसरी असफल पार्ने वा
राम्रो कामको जस लिने र अपजसजति अरुको थाप्लोमा कसरी थोपर्ने भन्ने प्रवृत्तिले अहिले हाम्रा राजनेताहरुलाई नराम्ररी गाँजेको छ । एउटा राजनेताले वर्गीय राजनीतिलाई बुझ्न र समाज रुपान्तरणका लागि मुद्धा उठाउन २० वर्ष लाग्न सक्छ । एउटा डाक्टर सक्षम भएर विरामी जाँच्नका लागि १० वर्ष लाग्छ । अनि एउटा पत्रकार जसले समाचारमा स्रोत पहिचान, संकलन र लेखनका लागि कम्तीमा १० वर्ष संघर्ष गरेकै हुन्छ ।
हाम्रो समाजलाई सही मार्ग निर्देश गर्नका लागि समाजका अगुवाहले आफ्नो पेशा र व्यवसायिक जीवनमा कुनै योगदान र समयनैं खर्च नगरे जसरी राजनेता, डाक्टर, पत्रकारलगायतको अबमूल्यन हुनेगरी सामाजिक सञ्जालमा लेखिएका विषयहरुले निकै पिडा दिने गर्छ । मुलुक कोरोनाको चक्रव्यूहमा छ । उपचारमा संलग्न डाक्टरहरुमाथि आक्रमण गरिन्छ । मानौं मुलुकको आमूल परिवर्तनका लागि कुनै योगदाननैं नगरेजसरी राजनेतालाई खुइल्याइन्छ । न्यायालयलाई बद्नाम गराइन्छ, अनि पत्रकारिता क्षेत्रकै बद्नाम र समाचारकै हत्या हुनेगरी एक अर्कालाई सिध्याउन हतियार बन्ने प्रवृत्तिले नेपाली समाजको अन्धकार तर्फ गोरेटो कोरिरहेको छ ।
समुदायमा रहेका राजनेता, न्यायाधीस, इन्जिनियर, डाक्टर, पाध्यापक र पत्रकारले मात्रै असल भुमिका खेलिदिने होभने कोही कतैबाट आलोचित बन्नु पर्दैन । तर हामीले हाम्रो भूमिका लाई निष्ठापूर्वक कार्यान्वयन गर्ने होभने आलोचना सुन्नै पाइन्न । अहिले हाम्रा हरेक गतिवधी ‘सत्ताका लागि’ केन्द्रीत भइरहेका छन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली कहिल्यै पनि बदलिएका छैनन् । विगतमा उनी जस्ता थिए, अहिले अझ मजबुत बनेका छन् । उनी बदलिदैनन् पनि । उनलाई सम्पूर्ण सत्ता चाहिएको छ । ‘आलोपालो’ प्रधानमन्त्रीको लिखित प्रतिवद्धतामै नअडिएका ओलीले अबका प्रतिवद्धता मान्लान् भन्ने सोच्नु ‘रणनीतिक’ मात्रै हो । अर्का अध्यक्ष प्रचण्ड बदलिएका छन् । उनको यो बदलावले नेकपा भित्र समस्या ल्याइदिएको हो । यदी जनयुद्धका प्रचण्ड थिए भने यो समस्या ठूलो थिएन पनि । तर, यतिबेला प्रचण्डले ओलीलाई रणनीतिक रुपमै भएपनि विश्वास नगरेमा उनको राजनीति अघि बढ्न सक्दैन । यही बुझाईले पनि नेकपाको समस्या समाधान गरेको छ यतिबेला ।
बलियो पार्टीलाई रित्तो बनाएर प्रतिद्वन्दीलाई सुम्पने र एमालेलाई सत्ताधारी पार्टीकै हैसियतमा पुनर्जीवित गर्ने विकल्प ओलीसँग अझै छ । आफ्ना सबैकुरा विर्सेर यसरी दुई तिहाई बहुमत प्राप्त दल सत्ताको रस्साकसीमा लपेटिइरहँदा कोरोनाबाट आक्रान्त मुलुक र जनताको अबस्था कस्तो होला ?
मुलुकमा नयाँ–नयाँ र खतरनाक समस्या थपिने क्रम जारी छ ।
राजनेताकै लहलहैमा लागेर समाजलाई नयाँबाटो तर्फ डोहो¥याउन उद्यत हुने आधार स्तम्भहरु सँगसँगै मिच्चन थाल्नु दुःखद पक्ष हुन् । यस्तो कार्यले हामीलाई बिनासकै बाटोमा डोहो¥याउने छ ।