कोरोना संक्रमित अधिकृत छोरा आइसोलेसनमा, घरमा वृद्धा आमाको मृत्यु, सिंगो गाउँनैं आतंकित

प्रदेश १ स्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयकामा अधिकृत पदमा कार्यरत छोरो आइसोलेसनमा बसिरहेका बेला उनको घरमा रहेकी आमाको मृत्यु भएपछि विराटनगरमा सनसनी फैलिएको छ । गत मंगलवार उनमा कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा राखिएको थियो ।

छोरालाई संक्रमणसँगै ८७ वर्षीया आमालाई पनि संक्रमणको आशंका विराटनगर महानगरपालिकाले गरेको छ। तर आमाको लगायत परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट प्राप्त भइसकेको छैन।

विराटनगर महानगरपालिका ३ का ५६ वर्षीय अधिकृतमा संक्रमण पुष्टि भएपछि महानगरको जनस्वास्थ्य महाशाखाले परिवार सदस्यकै स्वाब परीक्षणका लागि संकलन गरेको थियो।

महाशाखाका कोरोनाभाइरस कोभिड १९ का फोकलपर्सन हैदर अलीका अनुसार स्बाव नमूना संकलन गर्ने क्रममा समेत बृद्धा आमामा ज्वरो आउने गरेको थियो।

अलीका अनुसार महानगर बृद्धाको स्वाब फास्ट ट्याकिंगबाट परीक्षण गर्दा नेगेटिभ आएको भएपनि कोशी अस्पतालमा आइतबार पुनः परीक्षण गराउने तयारी गरिरहेको छ।

बृद्धा महिलाको शनिबार मृत्यु भएको बताएका अलीले दोस्रो रिपोर्टपछि मात्र यकिन भन्न सकिने उल्लेख गरे।

यससँगै उनको शव व्यवस्थापन कसरी गर्ने भन्ने तनाव परिवारका सदस्य र आफन्तलाई भएको छ।

प्रदेश १ को पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतसमेत रहेका वृद्धाका छोरा चालक र कार्यालयका अरु दुई अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि ओखलढुंगा र सोलुखुम्बु पुगेको ट्राभल हिष्ट्री देखिएको छ।

त्यहाँबाट फर्कने क्रममा चालकसहित दुईजनालाई ज्वरो आएको थियो । विराटनगर झरेर तीन जनाले कोरोनाको आशंका गर्दै गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए।

रिपोर्ट भोलिपल्ट मंगलबार पोजेटिभ आएपछि उपचारका लागि उनलाई भने आइसोलेनसमा भर्ना गरिएको अलीले बताए । परीक्षण गराएकामध्ये अर्का एक अधिकृतको रिपोर्ट भने नेगेटिभ आएको छ।

यस क्रममा संक्रमित अधिकृतलाई आइसोलेशनमा भर्ना गरेर वृद्धा आमा, श्रीमती, दाजु, भाउजु, छोरा तथा दाजुका छोरी र ज्वाईँको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

वृद्धाको मृत्यु कोरोनाका कारण भएको यकिन भएमा शव सेनाले व्यवस्थापन गर्ने र वृद्धामा कोरोना नभएको पाइएमा अन्त्येष्टिका लागि परिवारलाई दिइने महानगरको भनाई छ।