शुक्रबार बिहान सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन्।
बेपत्तामध्ये कोही पनि बिहान ११ः३० बजेसम्म फेला नपरेको घटनास्थल पुगेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। घटनास्थलमा सभामुख सापकोटासहित थप सुरक्षार्की पुगेका छन्।

पाँच जना गम्भीर अवस्थाका घाइतेलाई उद्धार गरी सदरमुकाम चौतारा लगिएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौँ ल्याउने प्रयास भइरहेको छ।
पहिरोले १३ घर पुरिएको बताइएको छ।
शुक्रबार बिहान ६ बजे तिर उक्त घटना भएको उक्त गाउँपालिकाका वडा सदस्य विष्णुलाल दोङले जानकारी दिए। उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

सुरक्षाकर्मी पुगेर उद्धार गर्न खोज्दा सुख्खा पहिलो आउँदा झन समस्या भएको छ। पुरिएकाहरुको उद्धार गर्न नसक्दा घटनास्थल वरपर स्थानीय रुवाबासी गरिरहेका छन्।
स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ। माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए।
पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन्। स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन्।
भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो।
नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताए।
यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताए।
‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने, ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन।’
तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो।
‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौँ’, तामाङले भने।











