विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ।
अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा उपचारका लागि बिहीबार बिहान साढे १० बजे भर्ना गरिएको उनले बताए।
सोही क्रममा युवकको स्वाब नमूना संकलन गरिएको थियो । पहिलो नमूना संकलनको रिपोर्ट नेगेटिभ आए पनि विश्वस्त हुन नसकेका चिकित्सकहरुले युवकको मृत्यु भइसकेपछि राती ११ बजे दोस्रो पटक नमूना परीक्षण गरेका थिए।
युवकको भने अपरान्ह ४ बजे मृत्यु भइसकेको थियो । दोस्रो पटकको रिपोर्ट शुक्रबार विहान ५ बजे पोजेटिभ आएको उनले बताए । युवकको जीवित रहँदा नेगेटिभ आएको भएपनि मृत्युपछि उनैको रिपोर्ट पोजेटिभ आएको डा. यादवले जानकारी दिए।
डा. यादवले कोरोना संक्रमणकै कारण युवकको मृत्यु भएको पुष्टि भएको बताए । यसबीच अस्पतालले पुरुषको शव परिवारको सदस्यलाई जिम्मा लगाएका थिएनन् । जसका कारण कोरोना फैलनसक्ने जोखिम टरेको उनले बताए।
३० वर्षीय पुरुषको मृत्यु भएसँगै विराटनगरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। यसअघि मृत्यु हुनेमा विराटनगर–९ का दुई, ३, ५ र १० नम्बर वडाका समान १ पुरुष रहेको अस्पतालले जनाएको छ।











