कोरोना संक्रमित मन्त्री यादवले भेटेका थिए प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई

फोटोः मन्त्री यादवको फेसवुक वालबाट ।

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो । उनले पछिल्लो एक हप्तामा ‘भिभिआइपी’ लाई भेटेको खुलेको हो ।

मन्त्री यादव बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठक सहभागी भएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका दुई सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतको सहभागितामा बैठक भएको थियो ।

त्यस्तै मन्त्रि यादव धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए । मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार बेलुका उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेशनमा छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुले जाँच गराउन आग्रह गरेका छन् ।

यसरी भयो अख्तियारमा संक्रमण

आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक नायब निरीक्षक- सईलाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो।

स्रोतका अनुसार ती प्रहरी अधिकारी ‘रङ्गे हात’ अप्रेसनमा कार्यरत थिए तर उनी काठमाडौं उपत्यकाभन्दा बाहिर गएका थिएनन्। सईलाई कोरोना देखिएपछि अख्तियार प्रशासनले सुरक्षाकर्मी र कर्मचारीको धमाधम कोरोना परिक्षण गराएको थियो।

बुधबार मात्र त्यहाँ कार्यरत ९ जना प्रहरी र एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित ती सबै ९ जना प्रहरी अख्तियारको सुरक्षा व्यवस्थापनमा खटिएका थिए।

बिहीबार पनि त्यहाँ कार्यरत २२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्रोतका अनुसार संक्रमित यी सबै २२ जना पनि सुरक्षा व्यवस्थापनमा कार्यरत थिए। ‘ प्रहरीमा धेरै देखिएकाले मेसबाट फैलियो कि भन्ने आशंका छ’, अख्तियारका एक उच्च अधिकारी भन्छन्।  अख्तियारले पिसिआर परीक्षण नगराएकालाई घरमै बस्न निर्देशन दिएको छ। अख्तियार कार्यालय सिल गरिएको छ।