कोरोनाले नेकपाको बिवाद छोप्दै, ओली–प्रचण्ड वार्ता अन्यौलमा, सर्वोच्च अदालत, अखितयारदेखि प्रचण्ड निवाससम्म संक्रमण

काठमाडौः प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पदबाट राजिनामा माग्दै पार्टी भित्र भुसको आगो सल्केका बेला राजधानी लगायत देशैभर नेकपाको आन्तरिक कलहलाई छोप्नेगरी कोरोना संक्रमण तिब्र रुपमा फैलिइरहेको छ ।

सुरक्षाकर्मी संक्रमित भएपनि प्रचण्ड परिवारको कोरोना रिर्पोट नेगेटिभ
कोरोना जाँच गराउँदै अध्यक्ष प्रचण्ड । उहाँको रिपोर्ट नेगेटिम आएको छ ।

आजै मात्रै प्रदेश २ का संघीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै उनी केही दिन अगाडि वालुवाटारको कार्यक्रममा समावेश भएको र त्यस क्रममा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामवहादुर थापा, प्रहरी महानिरिक्षक र सातै प्रदेशका कानूनमन्त्रीसहितको फोटो सामाजिक सञ्जालमा भेटियो ।

Prachanda-Niwas - Samudrapari.com
प्रचण्ड निवास खुमलटार । फाइल फोटो


नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भयो । भलै अध्यक्ष प्रचण्डको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न चिकित्सकले सुझाव दिएपछि फुटको संघारमा पुगेको नेकपाको किचलो केही दिनका लागि मत्थर हुने देखिएको छ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलँदो छ। राजधानीका प्रहरी प्रधान कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नगरपालिका कार्यालय, प्रदेश मन्त्रालय र केही सरकारी अधिकारीको निवाससम्म कोरोना भित्रिएको पाइएको छ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत ८५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ। बिहीबार मात्र १० जनामा कोरोना संक्रमण देखिएको छ। यसैगरि ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो। आजनैं अख्तियारमा रहेका २२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयनैं शिल गरिएको छ , बुधबार सर्वोच्च अदालतमा कार्यरत एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टी भएको थियो।

अन्तियारको कार्यालय, नक्साल । फाइल फोटो


मुलुक कोरोना संक्रमणले आक्रान्त भएका बेला प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा माग्दै नेकपाका तीन शिर्ष नेताहरुले ओलीलाई दबाब दिइरहेका थिए भने ओली स्थायी समिति र सचिवालय बैठक सार्दे आफु अनुकुल कामहरु गरिरहेका थिए । नेता त्रयको यो दबावलाई भने आम नागरिक र पार्टी कार्यकर्ताहरुले बेमौषमको बाजाको संज्ञा दिएका थिए ।

 दुई अध्यक्षबीचको वार्ता पुनः अन्यौलमा

बुधबार साँझ ५ बजेका लागि तय भएको वार्ता बिहीबार बिहानका लागि सारिएको भनिए पनि बिहान वार्ता हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक बिहीबार बिहान बस्ने जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंकाअनुसार वार्ताका लागि कुनै सूचना प्राप्त भएको छैन । पार्टीको आन्तरिक मतभेद अन्त्य गर्नेगरी दुई अध्यक्षबीच वार्ता जारी रहे पनि सहमति बनिसकेको छैन ।

पार्टीको स्थायी कमिटी बैठक पनि अन्यौलमा छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएर समस्याको समाधान खोजिनुपर्ने प्रस्ताव राख्दै आउका छन् । अर्का अध्यक्ष प्रचण्डले जारी स्थायी कमिटी बैठकलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन् । दुई अध्यक्षबीचको यही अडानका बीच सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले वार्ताको लागि अहिलेसम्म सूचना प्राप्त नभएको जानकारी दिए । पछिल्लो समय दुई अध्यक्षले एक–एक जना सहयोगी नेता लिएर वार्ता गर्दै आएका छन् । अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ र अर्का अध्यक्ष प्रचण्डको तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल सहभागी हुँदै आएका छन्।