सरकार फेरि लकडाउनको तयारीमा, प्रधानमन्त्री ओली विज्ञहरुसँग परामर्श गर्दै

कोभिड–१९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने तयारी थालेको छ । यसैको लागि सरकारले विज्ञहरुसँग परामर्श अघि बढाएको छ। विज्ञहरुबाट लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी आएसँगै सरकार परामर्शमा जुटेको हो।

सरकारले संक्रमण कसरी रोक्ने बारेमा छिटै अर्को रणनीति बनाउन लागेको छ। त्यसका लागि छलफलको नियमित प्रक्रिया अन्तर्गत विज्ञहरुसँग छलफल हो । यसअघि पनि लकडाउन खुकुलो गर्नुअघि २५ जना विज्ञहरुको सल्लाह प्रधानमन्त्री ओलीले लिएका थिए। विज्ञहरुको सल्लाहपछि लकडाउन खुकुलो पारेको सरकारले फेरि लकडाउन गर्नेबारे छलफल थालेको हो।

पछिल्लो समय प्रदेश २ का वीरगन्ज र धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा संक्रमण दर उच्च रहेको अवस्था छ। ट्राभल हिस्ट्री नभएका ब्यक्तिहरुमा समेत संक्रमण देखिन थालेपछि विज्ञहरुले भयावह रूप लिनसक्ने भन्दै यसअघि चेतावनी दिएका थिए।

हिजोमात्र स्वास्थ्य मन्त्रालयले १२ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथीका जेष्ठ नागरिकलाई घरभित्रै बस्न आग्रह गरेको थियो। सरकारले भने हालसम्म कोभिड–१९ को संक्रमण समुदायमा फैलिसकेकोबारे औपचारिक जानकारी दिएको छैन। तर तराइ लगायतका कतिपय ठाउँमा संक्रमण समुदायमा फैलिएको शंका भएसँगै नफैलिएका भन्नेबारे अध्ययन भइरहेको बताइएको छ।

यसअघि नेपालमा चैत १० गते गरिएको लकडाउन साउन ७ गते हटाइएको थियो। यद्यपी लकडाउन हटाइएको भए पनि लामो दुरीका सार्वजनिक यातायात र हवाई सेवा अझै सञ्चालनमा आइसकेका छैनन्। लकडाउन हटाएपछि संक्रमण बढदै गएको छ। सुरुवातमा विदेशबाट आएकामा मात्रै संक्रमण देखिएमा अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकार लगायतमा संक्रमण देखिन थालेको छ।
नेपालभर हालसम्म २० हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५७ जनाको निधन भइसकेको छ।