कोरोना महामारीका बीच भदौ १ देखि त्रिभुवन विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन्।

शुक्रबार विमानस्थलको निरिक्षण गर्दै मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा आउने बताए।

कोभिड १९ का कारण चार महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईले बताए। उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अव अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए।

त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए। लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन्। जसले गर्दा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास रहेकोसमेत मन्त्री भट्टराईले बताए।

यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो। विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन्। यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङस्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिनेसमेत मन्त्री भट्टराईले बताए।

उनले अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको बताए। उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभूति गर्न पाउने बताए।

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका हुन्। उनले भौतिक दूरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवश्यक तयारी पूरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताए।

विमानस्थलले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपयोग गरी सञ्चालन गर्ने योजना बनाएको छ।