प्रदेश २ मा कोरोना संक्रमण ह्वात्तै बढ्यो, ४ हजार ५ सय ४४ जना संक्रमित, १२ जनाको मृत्यु

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा समेत संक्रमण देखिएसँगै पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित मध्ये १२ जनाको ज्यानसमेत गइसकेको छ ।

कुल २६ हजार ४ सय ७ जनाको स्वाब संकलन गर्दा २ हजार ५२१ जनाको नतिजा आउन बाँकी छ ।

पहिला बिना लक्षणका संक्रमित देखिए पनि अहिले प्रदेशमा कोरोनाको लक्षणसहितका संक्रमितहरु देखिन थालेका छन् । लक्षणसहितको संक्रमण एकाएक बढ्न थालेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमणको जोखिम बढ्न थालेपछि फेरि लकडाउनमा जानुपर्ने स्थिति आउन लागेको विज्ञले सुझाएका छन् ।

यसअघि ‘इम्यूनिटी पावर’ राम्रो रहेकाले किशोर तथा युवा उमेरका व्यक्ति संक्रमित नहुने चर्चा भए पनि अहिले जुनसुकै उमेरसमूहका व्यक्ति संक्रमित हुन थालेका छन् ।

स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा जुनसुकै उमेर समूहमा लक्षणसहितको संक्रमण देखिन थालेको बताउँछन् ।

धनुषाको शहीद नगरपालिका वडा नम्बर ८, डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमित भएर मृत्यु भएको घटनाले यहाँ जुनसुकै उमेर समूहका व्यक्ति कोरोना संक्रमित भइरहेको देखाउँछ । ती पुरुषमा अधिक कोरोना भाइरसको मात्रा देखिएको थियो ।

प्रदेश सरकारले कोरोना भाइरस सम्बन्धी सुझाव दिन बनाएको विज्ञ समूहका चिकित्सक डा. रामकेवल साह पनि प्रदेशमा देखिएका संक्रमितमध्ये १५ देखि २० प्रतिशतमा लक्षण देखिन थालेको बताउँछन् । ‘अहिले संक्रमितको स्वरुप बदलिएको छ,’ साह भन्छन्, ‘पहिला कोही बाहिरबाट संक्रमित भएर आउँथे र उनको जाँच गरी आइसोलेसनमा राखिन्थ्यो, अहिले भने समुदायस्तरमै लक्षणसहितको भाइरस देखिन थालेको छ ।’