कमरेड प्रचण्डले जुन स्टेप चाल्नुभयो, त्यो दुई अध्यक्ष बीचको द्वन्द्व व्यवथापनको सन्दर्भमा एकतावादी थिएनन् , शक्ति हत्याउन मात्रै केन्द्रित भए: मणी थापा

नेकपा एकीकरण हुँदा गठित ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य समेटिएका थिए । तीमध्ये एमालेमा प्रष्ट दुई गुट भएकाले केपी ओली पक्षमा १२ र माधव नेपाल पक्षमा १३ सदस्य प्रष्ट देखिए । बामदेव गौतम भने अस्थिर नै रहँदा उनी जता लाग्यो, त्यसको पक्षमा १३ सदस्य हुने भए ।

पूर्वएमालेभित्रको प्रष्ट विभाजनले स्थायी कमिटीमा प्रचण्डको पक्षमा सबैभन्दा बढी १९ सदस्य रहने भए । पछिल्लो समय अग्नि सापकोटा सभामुख भएपछि प्रचण्डको पक्षमा १८ सदस्य हुनुपर्ने हो । तर, सचिवालय सदस्य रामबहादुर थापा बादल पनि बामदेवजस्तै देखिए ।

बादलमात्र होइन, पूर्वमाओवादीका लेखराज भट्टले प्रचण्डलाई खुलेरै साथ छाडिसक्दा प्रचण्ड पक्षधर स्थायी कमिटी सदस्यको संख्या १६ मा झरेको थियो । तर, नेकपाभित्र उत्पन्न पछिल्लो संकट र ओलीविरुद्ध प्रचण्ड माधव गठबन्धनको निर्णायक लडाइमा भने प्रचण्डले अरु पूर्वमाओवादी नेताहरुको समेत साथ गुमाउन थालेका छन् ।

ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगन गरेपछि मंगलवार प्रचण्डको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकमा पूर्वमाओवादीका चारजना स्थायी कमिटी सदस्य उपस्थित भएनन् । तीमध्ये एक हुन् मणि थापा ।

मणि थापा एक समय प्रचण्डभन्दा क्रान्तिकारी बनेर रविन्द्र श्रेष्ठसँगै माओवादी परित्याग गरेका नेता हुन् । पछि उनी प्रचण्ड समूहकै कोटाबाट नेकपाको स्थायी कमिटी सदस्य बने । तर, अहिले उनले आफ्नो पूर्वसमूहका नेता प्रचण्डलाई भन्दा केपी ओलीलाई प्रगतिशील देख्न थालेका छन् । प्रचण्डले माधव नेपाल समूहसँग नभई ओलीसँगै मिल्नुपर्ने थापाको अडान छ ।

पछिल्लो समय टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चन्द्रप्रसाद खनाल र मणि थापा लगायतका नेता दुई अध्यक्षकै समझदारीमा महाधिवेशनसम्म पार्टी सञ्चालन हुनुपर्ने पक्षमा उभिएपछि उनीहरु खुमलटारबाट टाढिएको स्पष्ट हुन्छ ।

कुराकानी गर्ने क्रममा स्थायी कमिटी सदस्य थापाले पूर्वएमालेभित्रको गुटमा खेलेर समीकरण नबनाउन सुझाव दिँदा आफूहरुलाई प्रचण्डले सल्लाह र छलफलमा बोलाउन छाडेको बताए । प्रचण्डले पुराना र सिनियर नेताहरुलाई उपेक्षा गरेका कारण आफूहरु टाढिएको उनको गुनासो छ ।

पूर्वमाओवादीभित्र अरु पनि नेताहरुले ओली र प्रचण्डबीचको समझदारीमै जोड दिएको, तर आफूहरुको सुझाव नमान्दा प्रचण्ड संकटमा फस्दै गएको थापाको विश्लेषण छ । पार्टी एकता टुंग्याउने सन्दर्भमा प्रचण्डको भूमिका सकारात्मक नदेखिएको थापाले सुनाए ।

पूर्वमाओवादी नेता थापाले भने, कमरेड प्रचण्डले जुन स्टेप चाल्नुभयो, यो पार्टी एकताको सन्दर्भमा र पछिल्लो चरणमा दुईटा अध्यक्षको बीचको द्वन्द्व व्यवथापनको सन्दर्भमा उहाँका स्टेपहरु एकतावादी भएनन् । उहाँका स्टेप समीकरण बनाएर शक्ति हत्याउन केन्द्रित भए ।

थापाले नेकपा स्थायी कमिटीमा अल्पमत र बहुमतका आधारमा निर्णय गर्ने परिस्थिति बन्यो भने त्यसको विपक्षमा अर्थात दुवै पक्षमा नलाग्नेको तटस्थहरुको संख्या बहुमतमा पुग्ने दाबीसमेत गरेका छन् ।