चौध दिनअघि थुनुवा र डिउटीमा बसेका प्रहरीलाई कोरोना देखिएका नेपालगञ्ज कारागारका थुनुवा र प्रहरीले बिहीबार कोरोनालाई जितेका छन् ।
उनीहरुलाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले थुनुवा, प्रहरीसहित पाँच जनालाई डिस्चार्ज गरेको जानकारी दिए ।
खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेशनमा राखिएका बर्दियाका एकसहित पाँच जनालाई डिस्चार्ज गरिएको हो । बुधबार बाँकेमा ६ जना डिस्चार्ज भएका थिए । कोरोना लागेको १४ दिन पुगेपछि डिस्चार्ज गर्ने गरिएको छ । अब नेपालगञ्जको आइसोलेसनमा बाँकेका २२ र बाहिरीका दुईजना छन् ।
७ सय ७७ जना बन्दी रहेको नेपालगञ्ज कारागारका थुनुवा र प्रहरीमा कोरोना देखिँदा कारागार प्रशासन झस्किएको थियो ।
यद्यपि, बिरामी थुनुवालाई भेरी अस्पताल, नेपालगञ्जमा उपचार गरेर ल्याएपछि छुट्टै ठाउँमा राखियो। उनको सम्पर्कमा आएका व्यक्तिमा जाँच गर्दा पनि कोरोना देखिएको थिएन ।











