पार्टी विभाजन हुँदैन, ओली पाँचै वर्ष प्रधानमन्त्री र पार्टी अध्यक्षमै रहनु हुन्छ: महाचिव पौडेल

नेकपाका महासचिव विष्णु पौडेल । फाइल फोटोः प्रदेशखबर

नेकपाका महाचिव विष्णु पौडेलले पार्टी फुटको नजिक पुगे पनि नफुट्ने दाबी गरेका छन्। पार्टीभित्र एक महिनाभन्दा लामो समयदेखि उत्पन्न विवादले विभाजन होला जस्तो अनुभुति भए पनि नफुट्ने बताएका हुन्।

बुधबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भने, ‘पार्टी फुट्नका लागि डिल डिलमा पुगे पनि फुट्दैन। एकता कायम रहन्छ।’

पौडेलले विवाद समाधानका लागि प्रयास भइरहेको र त्यसको परिणाम छिट्टै आउने दाबीसमेत गरे। ‘हामी विवाद अन्त्य गरेर सहमतिका साथ अघि बढ्न अधिकतम कोसिस गरिरहेका छौं। निकट भविष्यमै यसको परिणाम आउनेछ,’ पौडेलले भने।

नेकपामा विवाद समाधान हुँदा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओली नहट्ने महासचिव पौडेलले ठोकुवा गरे। अध्यक्ष ओलीको पक्षमा उभिदै आएका पौडेलले नेकपामा तीनवटा कुरा फेरबदल नहुने प्रष्ट पारे।

उनले भने, ‘नेकपाको विवाद समाधान हुँदा तीनवटा कुरा निश्चित छ। पहिलो पार्टी विभाजन हुँदैन, दोस्रो ओलीजी पाँचै वर्ष प्रधानमन्त्री रहनुहुन्छ र तेस्रो एकता महाधिवेशन नहुन्जेलसम्म उहाँ पार्टीको अध्यक्षमै रहनु हुन्छ।’

विवाद समाधानका लागि अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निरन्तर छलफलमा रहेका पौडेलले मंगलबार बालुवाटारमा भएको छलफल स्थायी समितिको बैठक नभएको उल्लेख गरे।

दाहाल नेपाल पक्षका बहु्मत स्थायी समिति सदस्य उपस्थित भए पनि अध्यक्ष ओलीले स्थगित गरेको अवस्थामा त्यो स्थायी समितिको बैठक नभएको उनको भनाइ छ। महासचिव पौडेलले भने, ‘अध्यक्ष र म महासचिवले स्थगित गरेपछि त्यो कसरी पार्टीको औपचारिक बैठक हुन सक्छ? त्यो त उहाँहरुको भेला मात्रै हो।’

मंगलबार बालुवाटारमा ओली इतर स्थायी सदस्यको उपस्थितिलाई पार्टीको औपचारिक बैठक मान्ने कि नमान्ने भन्ने विषयमा दुई पक्षबीच विवाद सुरु भएको छ।

दाहाल–नेपाल पक्षले पूर्वनिर्धारित कार्यक्रमअनुसार स्थायी समितिको बैठक भएको दाबी गरेको छ भने ओली पक्षले गुट भेला मात्र भएको बताउँदै आएको छ।

केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट दाहाल नेपाल पक्षले राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो। ओलीले दुवै पदबाट राजीनामा दिन अस्वीकार गर्दै आएका छन्।

महासचिव पौडेलले अनिश्चित भएको स्थायी समिति बैठक दुई अध्यक्षको सहमतिमै सुरु हुने उल्लेख गरे।