नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।
आइतबार प्रचण्डले माधव नेपाललगायतका नेताहरुलाई गरेको ब्रिफिङ अनुसार सचिवालयको बैठकपछिको घटना यस्तो छ–
शनिबार दिउँसो साढे ३ बजेदेखि करिब साढे ७ बजेसम्म सचिवालय बैठक सकिएर उठ्नैलाग्दा महासचिव विष्णु पौडेलले प्रचण्डलाई एसएमएस पठाए । सो एसएमएसमा प्रधानमन्त्रीले छलफल गर्न चाहनुभएको छ भनिएको थियो ।
बैठक सकेर निवासतिर फर्किन लागेका प्रचण्ड महासचिवको एसएमएसपछि नजिकै रहेको प्रधानमन्त्री क्वार्टरतर्फ लागे । तर, प्रधानमन्त्री ओली क्वार्टरमा थिएनन् ।
लगत्तै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन आयो, ‘म त यता शीतलनिवासतिर आइसके, तपाई पनि आउनुहोस् राष्ट्रपतिज्यूले छलफल गरौं भन्नुभएको छ ।’
प्रचण्ड केहीबेर बिलखबन्दमा परे । एकाएक शीतलनिवासमा ? राष्ट्रपतिले नै बोलाएको हो भने नजाऔं पनि कसरी ? त्यसपछि उनको गाडी खुमलटारतिर नलागी शीतलनिवासतिर हानियो ।
शीतल निवासमा पुग्दाखेरि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि थिए । शंकर पोखरेल पनि थिए ।
अब दुई अध्यक्ष आपसमा मिल्नुपर्छ भन्ने लामो कुरा सुनिसकेपछि प्रचण्डले आफूलाई अपमानित महसुस गरे । र, शीतलनिवासबाट फर्कनासाथ वीच बाटोबाटै उनले छोरी गंगा दाहाललाई फेसबुकमा स्टाटस लेख्न लगाए ।
स्टाटसमा यसो भनिएको थियो– ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’
आइतबार बिहान खुमलटारमा भेला भएका नेताहरुसँग प्रचण्डले भने, ‘यसरी मलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको हो, मलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ भन्ने महसुस भएको छ ।’
प्रचण्डले आफ्नो समूहका नेताहरुसँग भने, ‘अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन । एकपछि अर्को तुरुप कार्ड ल्याउनुभएको छ, कुनै पनि भरपर्दो छैन, विश्वसनीय छैन । त्यस्तो भ्रममा म पर्दिनँ ।’
मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा आफ्नो सहमति नरहेको प्रष्टले स्पष्ट पारेका छन् । ‘महाधिवेशन गर्नका लागि होइन । यो भरपर्दो प्रस्ताव पनि होइन । विचारमा छलफल छैन, सदस्यता टुंगिएको छैन, विषयान्तर गर्ने प्रयत्न हो’ प्रचण्डले भने, हिजै हुँदैन भनेको थिएँ, बाहिर गलत समाचार सम्प्रेषण भयो । हिजो सचिवालयबाट खण्डन गर्न लगाएँ ।’
प्रचण्डले अगाडि भने, ‘शीतलनिवासमा जाने कुनै कार्यक्रम थिएन, अरु साथी पनि गएका रहेछन्,तपाई पनि आउनुपरो एकछिन भन्नुभयो । अपर्झट गएको हो । सहमति भएको छैन । अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन ।’
मंसिरमा अर्ली महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएका नेकपा अध्यक्ष प्रचण्ड १२ घण्टा नबित्दै पछि हटेको ओली पक्षका नेताहरुको आरोप छ ।