साउन महिनाको पहिलो सोमबार: घरमै व्रतालूकाे आराधना

साउन महिनाको पहिलो सोमबार (आज साउन ५ गते) भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।

यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन् ।

तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।

सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो ।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर यो वर्ष अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन् ।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।

साउने सोमबार पशुपतिनाथ मन्दिरमा सामान्य अवस्थामा झण्डै एक लाख दर्शनार्थी पुग्ने गर्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउनको पहिलो सोमबारका लागि विशेष व्यवस्था नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । कोषका प्रवक्ता भोला सिटौलाका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला गरिने छैन ।

उनले भने, ‘अहिलेको परिस्थिति विषम छ । सरकारले लागु गरेको नियम मान्नु हाम्रो पहिलो प्राथमिकता हो । सरकारले मठ मन्दिर खुला गर्ने स्वीकृति दिएको छैन । सोही कारण यो वर्षको साउने सोमबार पशुपतिनाथ भक्तजनका लागि खुला हुँदैन ।’

उनले भनेका छन्, ‘अहिले मन्दिर बन्द छ । सोमबार पनि खुला हुँदैन । तर सरकारले मन्दिर खुला गर्ने निर्णय गरेमा साउनका अरु सोमबार दर्शन गर्न पाइने हुन सक्छ । त्यसका लागि हामीले तयारी गरेका छौँ ।’