सत्तारुढ दलको आज बस्ने स्थायी कमिटिमा बैठकमा महाधिवेशनको प्रस्ताव पेश हुने, शिर्ष नेताहरु सशंकित

Group of people working at a food factory doing quality control on the production line

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको संकट समाधान गर्ने उदेश्श्यले आज दिउँसो प्रधमानमन्त्री निवास वालुवाटारमा दिउँसो ४ बजे बस्ने पार्टीको स्थायी समिति बैठकमा आउँदो मंसिर महिनामा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आएको संकटको दिर्घकालिन समाधानका लागि आजको बैठकमा यस्तो प्रस्ताव पेश गर्र्ने तयारी गरेको थाहा लागेको छ।
हिजोको सचिवालय बैठकमा ओलीले आउँदो मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेकोमा त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि समर्थन गर्ने जनाउ दिएपछि नेकपा भित्र गहिरिएको संकट तत्कालका लागि समाधान हुने देखिएको छ ।

पार्टी भित्र देखिएको संकट समाधानका लागि विकल्प खोज्ने जिम्मा पाएका र्शीष नेतृत्वबिच सहमति हुन नसक्दा लगातार स्थगित हुँदै आएको स्थायी कमिटिको आइतबारको बैठकमा आउँदो मंसिरमा महाधिवेशन गर्ने सम्बन्धी प्रस्ताव औपचारिक रुपमा पेश हुने नेकपा नेताहरुले बताएका छन् ।

केन्द्रीय सचिवालयमा ओलीले शनिबार महाधिवेशनको प्रस्ताव गर्दा त्यसमा दाहालले सहमति जनाए पनि अरु शीर्ष नेताहरुले भने शंका व्यक्त गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ प्रकाशले मंसिरमा महाधिवेशन गर्न सक्ने अवस्था वा सम्भावना नरहेको भन्दै यो प्रस्ताव पार्टी भित्र देखिएको गम्भीर संकटबाट ध्यान हटाउने मनसायले आएको बताएका छन् ।

पार्टी एकता प्रक्रियाले पूर्णता पाउन बाँकी रहेको तथा संगठित सदस्यता टुंगो लागि नसकेको अवस्था र कोरोना भाइरसको महामारीमा देश रहेका बेला आउँदो मंसिरमा महाधिवेशन गर्न सकिने सम्भावना नै नरहेको उनीहरुको भनाई छ ।

ओलीको प्रस्ताव र प्रचण्डको सहमति रहेको भनिएको महाधिवेशन प्रस्ताव नेता कार्यकर्तालाई अलमल्याउने उद्देश्यले आएको उनीहरुको आरोप छ ।

तर पनि नेता नेपालले स्थायी कमिटि बैठकमा महाधिवेशन सम्बन्धी कार्यतालिकासहितको ठोस प्रस्ताव ल्याउन भनेका छन् । सोही अनुसार आजको स्थायी कमिटि बैठकमा प्रस्ताव पेश हुने सम्भावना छ । आइतबार स्थायी कमिटि बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबिच वार्ता हुनेछ ।
यसैबिच केन्द्रीय सचिवालयको शनिबारको बैठकमा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका प्रचण्ड–नेपालले सो प्रशंग उठाएनन् । छलफल महाधिवेशनमा केन्द्रित भएसँगै तत्कालका लागि ओली राजीनामाको दबाबबाट माथि उठेको जस्तो देखिएको छ ।

तर यो पटक पनि ओली–प्रचण्ड मिलेर आफूलाई एक्ल्याउने वा बाइपास गर्ने संकेत पाएका नेता नेपालले फेरि त्यसो गरिए आफू देशव्यापी अभियानमा जाने बताएका छन् । उनले दुई अध्यक्ष मात्रै मिलेर समस्या समाधान नहुने भन्दै प्रक्रियागत रुपमा पार्टी भित्रका विवादको स्थायी समाधान खोजिनु पर्ने उल्लेख गरेका छन् ।
यस्तै प्रचण्ड पुत्री तथा स्वकीय सचिव गंगा दाहालले पनि सामाजिक सञ्जाल मार्फत सहमति भइनसकेको र छलफल जारी नै रहेको बताएकी छन् ।