
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ। हालसम्म नेपालमा कोरोनाबाट ४० जनाले ज्यान गुमाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९, तेह्रथुमका २, इलामका १ र झापाका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै बाराका १, सर्लाहीका २, नुवाकोटका १, बागलुङका १, पर्वतका १, गुल्मीका २, पाल्पाका २, दैलेखका ५, सल्यानका १, रुकुमपश्चिमका ३, डडेल्धुराका २, बझाङका २, डोटीका ७, कैलालीका १३ र कञ्चनपुरका १ जनामा कारोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ३७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयाेगशालामा ३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म देशभरका क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना रहेका छन् भने ५ हजार ८ सय २५ जना कोरोना संक्रमित आइसाेलेसनमा रहेका छन्।
डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जना उपचाररत छन्। यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत छन्।










