
चीनले जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भावित खोपको प्रारम्भिक चरणको मानवीय परीक्षणका लागि स्वीकृति दिएको छ ।
जर्मन उत्पादकको सो सम्भावित खोपको परीक्षण चीनमा स्थानीय शाङ्घाइ फोसन फर्मास्युटिकल्सको नेतृत्वमा मानवीय परीक्षण हुने भएको बिहीबार जानकारी दिइएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
बायोएनटेकले पीफिजर इन्कसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धका दुई खोपमा काम गरिरहेको छ । सोही मध्येको एक खोपको मानवीय परीक्षणका लागि चीनले स्वीकृति दिएको हो ।
बायोएनटेकले बनाएको खोपको परीक्षणका लागि अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसै हप्ता ‘फास्ट ट्रयाक’ स्टाटस दिएको थियो ।
चीनले पनि मानवीय परीक्षणका लागि स्वीकृति दिएसँगै हालका लागि बिएनटि १६२ बि १ नाम गरेको खोपको परीक्षण सम्भव भएसम्म चाँडो सुरु गरिने फोसन फर्माले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको खोप द्रूत गतिमा बनाउनका लागि विश्वभरका वैज्ञानिक तथा औषधिको क्षेत्रमा अनुसन्धान गर्ने संस्था तथा कम्पनीसहित सरकारहरु जुटेका छन् ।
अहिलेसम्म कम्तिमा २३ वटा सम्भावित खोपहरुको मानवीय परीक्षण सुरु भएको छ वा सुरु गर्ने तयारीमा पुगेका छन्।
हालै अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोदेर्नाले नेशनल इन्स्टिच्यूड अफ हेल्थसँगको सहकार्यमा तयार पारेको सम्भावित खोपको मानवीय परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो। सो खोपले मानिसको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पारेको देखिएको र थप अनुसन्धान खाँचो रहेको बताइएको थियो ।
